अख्तियारको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सर्वसम्मत अनुमोदन

title
बिहिबार, अशोज ४, २०७५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मत अनुमोदन गरिएको छ । सिहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख आयुक्त घिमिरेलाई सर्वसम्मत अनुमोदन गरेको हो । घिमिरेमाथि कुनै पनि उजुरी परेको थिएन । यसअघि आयुक्तका रूपमा संसदीय सुनुवाइका क्रममा पनि उहाविरुद्ध उजुरी थिएनन् । घिमिरे हाल अख्तियारका कार्यवाहक प्रमुख आयुक्त हुनुहुन्छ ।

घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उहाँको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिको बैठकमा आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि कार्ययोजनासहित काम गर्ने तथा सभ्य र भ्रष्टाचाररहित समाज निर्माणका लागि प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको थियो । घिमिरेले आफ्नो कार्यकालमा कानूनी र नीतिगत सुधार गर्ने तथा भ्रष्टाचार नियन्त्रणका लागि प्रविधि तथा अनुसन्धानको दायरासमेत फराकिलो बनाउने उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण भए पनि त्यसलाई नियन्त्रणका लागि विज्ञ कर्मचारी एवं प्रविधिको समेत जरुरी रहेको बताउनुभयो ।

बैठकमा समिति सदस्यहरुले प्रमुख आयुक्त हुनका लागि आवश्यक योजनाका बारेमा प्रश्न गरेका थिए । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातले अनिवार्य अवकाश पाएपछि गत फागुन २ गतेदेखि घिमिरे कार्यवाहकका रूपमा कार्यरत हुनुहन्छ । संवैधानिक परिषद्ले भदौ २० गते घिमिरेलाई अख्तियार प्रमुखमा सिफारिस गरेको थियो ।