‘अटोभिलेज’ सञ्चालनमा

title
शुक्रबार, फाल्गुन १०, २०७५

दाङ – दाङको तुलसीपुर बसपार्कमा रहेका अटो व्यवसायीलाई नयाँ स्थानमा सारिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ र ९ को सिमानाअन्तर्गत पातुखोलामा निर्माण भएको ‘अटोभिलेज’मा व्यवसायी सरेका छन् ।

अहिले बसपार्कबाट अटो व्यवसायीलाई सारिएसँगै नमूना बसपार्क निर्माणको कामले पनि तीव्रता पाएको छ । पहिले बसपार्कमा रहेका सबै अटो व्यव्सायी नयाँ अटोभिलेजमा सरिसकेका छन् । अटो भिलेज व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर महताराका अनुसार ८५ अटो व्यवसायी नयाँ अटोभिलेजमा सरिसकेका छन् ।

एकसय २० कोठा निर्माण भएको अटोभिलेजमा करीब १५० व्यवसायीले नाम दर्ता गराएको अध्यक्ष महताराले बताउनुभयो । गत वर्षको माघदेखि निर्माण शुरु भएको उक्त अटोभिलेजमा केही दिन अघि विद्युत्समेत जडान भइसकेको छ । अब तटबन्ध निर्माण र केही कोठा बनाउन बाँकी रहे पनि लगभग काम अन्तिम चरणमा पुगिसकेको महताराले बताउनुभयो । त्यहाँ निर्माण गरिएका एउटा कोठाको भाडा मासिक रु एक हजार कायम गरिएको छ ।

उपमहानगरपालिकाको करीब रु दुई करोड लगानीमा अटोभिलेज निर्माण भएको हो । खानेपानीको समस्या रहेको अटोभिलेजमा स्थानीय सरकारले खानेपानीको व्यवस्था गर्नुपर्ने महताराको भनाइ छ । महताराका अनुसार पश्चिममा १३० मिटर र पूर्वतिर बनेका कोठामा ७०÷८० मिटर तटबन्ध निर्माण गर्नुपर्ने अवस्था रहेको छ । पूर्वतिर कुलोमा ‘कलभर्ट’ बनाउन र अटोभिलेजसम्म पुग्न सडकको पनि स्तरवृद्धि गर्न आवश्यक रहेको महताराले बताउनुभयो ।

तुलसीपुर–६ मा रहेको तीन बिघा र तुलसीपुर–९ मा रहेको दुई बिघा जग्गामा अटोभिलेज निर्माण गरिएको हो । खोलाको सतहदेखि साढे दुई मिटर अग्लो र जमीनमुनि एक मिटर गहिरो तटबन्ध निर्माण गरिएको छ । पातुखोलाको किनार बस्तीदेखि टाढा भएकाले पनि अटोभिलेजका लागि उचित स्थान भएको महताराको भनाइ थियो । “अटो व्यवसायबाट चर्को ध्वनि निस्कनुका साथै फलामजन्य किला काँटीले फोहर हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले अटोभिलेज बजार तथा बस्तीदेखि टाढा हुन जरुरी छ ।”