अनमोल र प्रदीपको भिडन्त पक्का

title
मङ्लबार, अशोज २३, २०७५

काठमाडौं । नेपाली चलचित्रका चर्चित दुई अभिनेता अनमोल केसी र प्रदीप खड्का आमने सामने हुने भएका छन् । दुईलाई एकअर्काको कडा प्रतिस्पर्धी भन्ने गरिन्छ ।

दुबै अभिनेताले अहिलेसम्म संख्यात्मक हिसाबले बराबर फिल्म गरेका छन् । अनमोलले ‘होस्टेल’, ‘जेरी’, ‘गाजलु’, ’ड्रिम्स’ र ’कृ’ गरिसकेका छन् भने प्रदीपको अभिनय रहेका ‘स्केप’, ‘प्रेमगीत’, ‘प्रेमगीत २’, ‘लिलिबिली’ र ‘रोज’ प्रदर्शनमा आइसकेका छन् । तर प्रदीप भन्दा अघि अनमोल देखिए पनि फ्यान फ्लोरका हिसाबले प्रदीप पनि कमी भने छैनन् ।

दुबै स्टार अभिनेता अहिले छैटौं प्रोजेक्टमा व्यस्त छन् । अनमोलको ‘क्याप्टेन’ र प्रदीपको ‘लभ स्टेशन’ यस वर्ष प्रदर्शनमा आउने फिल्म हुन् ।  यी दुई अभिनेताको महाशिवरात्रीको छेकोमा भिडन्त हुने पक्का पक्की जसो भएको छ । फागुन १७ गतेलाई अनमोलको फिल्म ’क्याप्टेन’ को रिलिज कन्फर्म गरिएको छ भने ‘लभ स्टेशन’ पनि उक्त डेटमा रिलिज हुने तरखरमा छ । निर्माताबाट यसको औपचारिक जानकारी भने प्राप्त भएको छैन ।

‘लभ स्टेशन’ को भने यसअघि फागुन २४ गतेलाई प्रदर्शन मिति तोकिएको छ । तर, शिवरात्रीको सार्वजनिक दिन छोप्न उक्त फिल्मलाई एक हप्ता अगाडि नै रिलिज गर्ने सोचमा निर्माण टिम रहेको बुझिएको छ । ‘क्याप्टेन’ र ‘लभ स्टेशन’ एकसाथ रिलिज भए यो यस वर्षकै सबैभन्दा ठूलो भिडन्त हुने चलचित्रवृत्तमा चर्चा चलेको छ ।