अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल-२०१९

title
शुक्रबार, बैशाख २७, २०७६

काठमाडौं– यो वर्षकोको मिस नेपाल–२०१९ काठमाडौंकी २३ वर्षीया अनुष्का श्रेष्ठ बनेकी छिन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा अन्य प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।

२५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायकले सोधेका प्रश्न उत्कृष्ट जवाफ दिँदै श्रेष्ठ मिस नेपाल बन्न सफल भएकी हुन् । उनलाई मिस नेपाल २०१८ की श्रृंखला खतिवडाले ताज पहिराएकी हुन्।

कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा कर्तव्य र अधिकार एकै सिक्काका दुई पाटा रहेको कुरा सुन्दै आएको भन्दै उनले सबैले आ–आफ्नो स्तरमा आफ्नो जिम्मेवारी निर्वाह गरेमा संसार स्वतः सुन्दर हुने जवाफ दिएकी थिइन् ।

यस्तै, यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीको पोल्टामा गएको छ । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेतको पोल्टामा जादा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितिन् ।

मिस नेपाल सुपर नेशनलको उपाधि भने रोज लामाले जितिन् । यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा गरेका थिए । अन्तिम ७ मा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति पुगेका थिए ।

‘मिस नेपाल’ आयोजनाको २५ औं बर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरुलाई समेत सुरुवातमै स्टेजमा निमन्त्रणा गरिएको थियो ।
‘मिस नेपाल २०१९’को अन्य विभिन्न टाइटलका विजेताहरुको नाम यसप्रकार छः

१. मिस फ्रेन्डसिपः न्यान्सी बोगटी

२. मिस ब्यूटिफूल हेयरः मिरा कक्षपति

३. मिस ग्ल्यामरः रोज लामा

४. मिस फोटोजेनिकः रोज लामा

५. मिस इन्टिलेक्चुअलः अनुष्का श्रेष्ठ

६. मिस न्याचुरल स्किनः जेनी महर्जन

७. मिस एथेलेटिक्सः प्रदिप्ता अधिकारी

८. मिस कन्फिडेन्टः निशा पाठक

९. मिस पपलुर च्वाइसः रिया बस्नेत

१०. मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी

११. मिस फ्यासिनोः अनुष्का श्रेष्ठ

१२. ब्यूटी विथ दि प्रपोजः निकिता कर्माचार्य

को हुन् अनुष्का ?
काठमाडौंकी २३ वर्षीया अनुष्का श्रेष्ठ मिस नेपाल प्रतियोगिताकै लागि केही दिन अघि मात्र अष्ट्रेलियाबाट नेपाल आएकी हुन् ।

अष्ट्रेलियामा अध्ययन गर्दै आएकी अनुष्का व्यवस्थापन संकायतर्फ स्नातक उत्तीर्ण हुन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी उनी मिस नेपाल ओसेनिया–२०१८ बन्न सफल भएकी थिइन् । सामाजिक कार्यक्रमा रुचि राख्ने अनुष्का कमन वेल्थ ब्यांक अफ अष्ट्रेलियामा कार्यरत छिन् ।