अन्तराष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ : महिला, बालबालिका मन्त्री थापा

title
बिहिबार, अशोज ४, २०७५

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला अधिकारका क्षेत्रमा भएका अन्तराष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बिहिवार काठमाडौमा सम्पन्न एक कार्यक्रममा मन्त्री थापाले महिला अधिकारलाई थप बलियो बनाउन अन्तराष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले महिलाका अधिकारलाई संविधानमा समेटिएको बताउँदै त्यसलाई कार्यान्वयन गर्ने गरी कानून निर्माण भइरहेको जानकारी पनि दिनुभयो ।

उहाँले मुलुकको नयाँ संरचनामा स्थानीय तह र प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार महिला अधिकारलाई दृष्टिगत गरी आवश्यक कानून बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सहभागीहरुले बिभेद न्यूनीकरणका लागि निर्माण भएका ऐन, नियम र कानूनलाई सशक्त रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै विभेदमा परेकाहरुलाई आर्थिक र सामाजिक सशक्तीकरणमा ल्याउनुपर्ने धारणा राखेका थिए ।