अपहरीत बालकको खोजीमा डेढसय बढी संख्यामा प्रहरी परिचालन

title
सोमवार, साउन २१, २०७५

काठमाडौं । आइतवार साँझ काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका एक बालकको खोजीका लागि डेढसय भन्दा बढीको संख्यामा प्रहरी परिचालन गरिएको छ ।

आइतवार साँझ करिब ६ बजे काँडाघारीबाट बालक अपहरणमा परेको प्रहरीलाई सूचना प्राप्त भएको थियो । सिन्धुपाल्चोक घर भई काँडाघारीमा चिया पसल चलाउने महिलाका ११ वर्षीय छोरा अपहरणमा परेका हुन् । अपहरणको सूचना पाएपछि आइतवार राति ८ बजेदेखि प्रहरी परिचालन भएको थियो ।

प्रहरी परिचालन भएको १५ घण्टाभन्दा बढी समय भइसक्दा पनि बालक फेला परेका छैनन् । प्रहरीले अपरहणमा परेका बालककी आमालाई फोन गरेर अपहरणकारीले फिरौती माग गरेको बताएको छ । तर आमाले बालक अपहरण परेको कुरा सुन्ने वित्तिकै आफू बेहोस भएपछि फिरौति मागिएको रकमबारे याद नभएको प्रहरीलाई बयान दिएकी छन् ।

बालकको बुवा कामका लागि विदेश गएको बुझिएको छ ।