अभिनयसँगै चलचित्र निर्माणमा जुटे बिराज भट्ट

title
मङ्लबार, कार्तिक १३, २०७५

काठमाडौं । लामो समय नेपाली चलचित्र र त्यसपछि भोजपुरी चलचित्रमा राम्रो छाप छाड्न सफल एक्सन नायक विराज भट्ट चलचित्र निर्देशनमा होमिएका छन् । उनले आफ्नो परिचय फराकिलो बनाउँदै निर्देशकको नयाँ परिचय थप्ने भएका छन् ।

नेपाली र भोजपुरी फिल्म बजारमा अभिनेताको रुपमा स्थापित उनी अब फिल्म निर्माण र निर्देशनमा डेब्यु गर्दैछन् । त्यसो त उनले एक भोजपुरी फिल्मको गीत समेत गाएका थिए । हाल अभिनेता भट्ट नेपालमा छन् । गएको दुई वर्ष अगाडि उनले रोज राणा निर्देशित फिल्म ‘जय परशुराम’ बाट नेपाली फिल्ममा कमब्याक गरेको भए पनि उनको कमव्याक फलदायी बनेको थिएन । त्यसअघि उनको व्यस्तता भोजपुरी फिल्ममा बढी थियो ।

गएको वर्ष उनले आफ्नै लगानीमा चलचित्र ‘हर्के राजा’ बनाउने सामाजिक सञ्जालमार्फत् घोषणा गरेपनि त्यो निर्माण हुन सकेन । अब उनी आफ्नै निर्माण र निर्देशनमा नयाँ फिल्म बनाउन कसिएका छन् । फिल्मको नाम ‘साङ्लो’ जुराइएको छ । हालै उनले फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् । नायिकाको खोजीमा रहेका विराज स्वयमको फिल्ममा प्रमुख भूमिका रहने बताइएको छ । अभिनेत्री द्वय साम्राज्ञी आरएल शाह र प्रियंका कार्कीसँग फिल्मको विषयमा अहिले कुरा भइरहेको बुझिएको छ ।

केही दिन अगाडि मात्र फिल्मको एक गीत रेकर्ड गराइएको थियो । गीतमा सुरेश अधिकारीको संगीतमा निशान भट्टराईले स्वर भरेका छन् । उनलाई अञ्जु पन्तले गायनमा साथ दिएकी छन् । मंसिरपछि छायांकन शुरु हुने एक्सन–लभस्टोरी जनराको फिल्मका लागि अहिले विराज कलाकार छनोटमा व्यस्त छन् ।