अमेरिकामा पनि दर्शकको रोजाइमा कान्छी !

title
शुक्रबार, साउन २५, २०७५

काठमाडौं । अहिले नेपाली चलचित्र क्षेत्रको बजार विस्तार भएको छ । नेपालमा प्रदर्शनमा भएका सफल चलचित्रले विदेशी भूमिमा समेत दर्शकको समेत राम्रो साथ पाउन थालेका छन् ।

हालै आफ्नो चलचित्र कान्छी लिएर अमेरिका पुगेकी निर्मात्री स्वेता खड्का अहिले अमेरिकामै व्यस्त छिन् । उनको चलचित्र कान्छीलाई अमेरिकामा रहेका नेपाली दर्शकले रुचाएका छन् ।

अमेरिकाका विभिन्न शहरमा कान्छी प्रदर्शन भइरहेको छ । अहिलेसम्म प्रदर्शन गरिएको शो बाट चलचित्र निकै नै राम्रो बनेको प्रतिक्रिया पाएपछि निर्मात्री स्वेता पनि निकै नै खुशी छिन् । केही दिन अघि अमेरिकाको न्युयोर्क र बोस्टनमा सम्पन्न भएका तीन वटा शो मा स्वेता सहभागी भइन् ।

उनीसँग नृत्य निर्देशक बसन्त कुमार श्रेष्ठ पनि शो मा सहभागी भैरहेका छन् । नेपालमा सफल भएको ‘कान्छी’को अमेरिकामा अझै केही शहरहरुमा विशेष शो देखाइनेछ । निर्मात्री स्वेताले भनिन्–‘चलचित्र नेपालमा दर्शकले जसरी रुचाएका थिए उसैगरी प्रवासी नेपालीहरुले पनि रुचाएका छन् ।’

कान्छीको अमेरिका शो बाट उठेको रकम माझी बस्ती निर्माणमा लगाइने उनले बताइन् । आकाश अधिकारी निर्देशित चलचित्र कान्छी मा श्वेता शिर्ष भूमिकामा प्रस्तुत भएकी छन् भने साथमा दयाहांग राई, अनु शाह, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ, आशान्त शर्मा लगायतका अभिनय छ ।

त्यसो त निर्मात्री स्वेता अभिनयसँगै सामाजिक कार्यक्रमा समेत सक्रिय रहँदै आएकी छिन् । पति श्रीकृष्ण श्रेष्ठको निधनपछि लामो समय चलचित्रबाट टाढा रहेकी उनी कान्छी लिएर दर्शकमाझ आएकी हुन् ।

त्यसका अलावा उनी स्वेताश्री फाउण्डेशनमार्फत सामाजिक कार्यमा सक्रिय छिन् । उनले सिन्धुपाल्चोकको माझी बस्ती निर्माण गरिरहेकी छिन् । गत २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले तहसनहस बनेको सिन्धुपाल्चोकको माझी बस्ती ठड्याउने जमर्कोमा साथ दिन समेत उनले आग्रह गर्दै आएकी छिन् ।