अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर वार्ता आज भियतनाममा हुँदै

title
बुधबार, फाल्गुन १५, २०७५

एजेन्सी । अमेरिका र उत्तर कोरियाबीच भियतनाममा दोस्रो शिखर वार्ता आज हुँदैछ । आज र भोलि हुने दुई दिने शिखरवार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली सर्वोच्च नेता किम जोङ उन भियतनाम पुगिसकेका छन् ।

राष्ट्रपति ट्रम्प मंगलबार अबेर अमेरिकी राष्ट्रपतिको सरकारी विमान एअर फोर्स वानबाट भियतनामको हनोईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् भने किम जोङ उन यसअघि नै रेलयात्राबाट त्यहाँ पुगेका थिए ।

दुई नेताबीच बुधबार र बिहीबार हनोईमा शिखर वार्ता हुने कार्यक्रम छ । वार्तामा कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने विषयमा छलफल हुने छ ।

विश्व समुदायले यस पटकको वार्तामा उत्तरकोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ । यसअघि दुई नेताबीच गत वर्ष जुनमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो ।

उक्त वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा अस्पष्ट तर महत्वपूर्ण सहमति भएको थियो । उत्तर कोरियाको आणविक हतियार नष्ट गर्नेतर्फ यस पटकको वार्तामा ठोस सम्झौता हुने विश्लेषकले अनुमान गरेका छन् ।