अमेरिकी प्रशासनसँग उत्तर कोरियाको असन्तुष्टि

title
आइतवार, साउन २७, २०७५

बीबीसी । उत्तर कोरियाले अमेरिकामाथि विभिन्न आरोप लगाउँदै हालका गतिविधिहरुप्रति असन्तुष्टि जनाएको छ । अमेरिकी प्रशासनले सिंगापूर बैठकमा तय भए जसरी कुनै काम अघि नबढाएको गुनासो गर्दै प्योङयोङले गम्भीर चिन्ता व्यक्त गरेको राष्ट्रिय संचार केसीएनएले उल्लेख गरेको हो । प्योङयोङका अनुसार आफूहरुले आणविक हतियार त्याग गरि विश्वमा शान्ति कायम राख्न व्यवहारिक कदम उठाइसकेपनि अमेरिकी पक्षबाट भने कुनै ठोस नतिजा प्राप्त भएको छैन ।

बिहिबार उत्तर कोरियाका विदेश मन्त्री रि योङले सिंगापूर सम्मेलनमा ट्रम्पले वचन दिएका पक्षहरु अहिले अमेरिकी सरकारको नीतिसँग मेल नखाएको बताएका हुन् । हालै उत्तर कोरियाले दुईवटा प्रमुख आणविक परीक्षण स्थल नष्ट गराइसकेको र एक वर्ष यतादेखि कुनै मिसाइल परीक्षण नगरेर व्यवहारिक कदम उठाइरहँदा उता अमेरिकी प्रशासनले भने अझै आफूहरुमाथि अन्तराष्ट्रिय प्रतिबन्ध र दबाब जारी राखिरहेको उनको गुनासो छ । उनका अनुसार आफूहरुले सक्दो प्रयास जारी राख्दा पनि अमेरिका भने पुरानै सोचको निशस्त्रीकरण तरिकामा अल्झििएर बसिरहेको छ जसलाई अपनाउने सबै पूर्व प्रशासनहरु विफल भएका थिए । त्यसकारण उत्तर कोरियाको मुद्दामा नयाँ नीति अनुरुप काम गर्दा पहिले त धैर्य राख्नुपर्ने र यसपछि आर्थिक प्रतिबन्ध हटाइनुपर्ने प्योङयोङको माग रहेको छ ।

त्यसैले अमेरिकाले आफ्नो वचन पूरा गरे अझैपनि आफूहरुले ईमान्दारीपूर्वक सिंगापूर बैठकको सम्झौता पालन गरिरहने र भविष्यमा पनि जारी राख्न तयार रहेको मन्त्री रि योङले बताएका हुन् ।

तर उता अमेरिकाले भने पूर्ण रुपमा कोरियाली प्रायद्विप हतियार मुक्त नभएसम्म प्रतिबन्ध हटाउन नमिल्ने अडान लिएको छ । यसअघि दुई प्रमुखबीच भएको बैठकमा राष्ट्रपति ट्रम्प र नेता किमले कोरियाली प्रायद्विपलाई निशस्त्रीकरण गर्नमा सहमति जनाएका थिए । तर गत हप्ता मात्र संयुक्त राष्ट्र संघले उत्तर कोरिया अझैपनि गोप्य रुपमा आणविक गतिविधिमा लागिरहेको खुलासा गरेको थियो । अहिले भने मन्त्री रि योङ ईरान भ्रमणका क्रममा राष्ट्रपति हसन रोहानीसँग भेटवार्ता गरिरहेका छन् । रोहानीले यसअघि नै उत्तर कोरियालाई अमेरिकामािथ भरोसा गर्न नसकिने सुझाव दिएका हुन् ।

मन्त्री योङले यस्तो आरोप लगाइरहँदा उनले यसमा ट्रम्पको भने कुनै गलती नरहेको तर अमेरिकी प्रशासनका केही वरिष्ठ अधिकारीहरुले चाहिँ उनको उद्देश्य विपरित काम गरिरहेको संकेत गरेका हुन् । यसकारण पनि वासिङटनले अपेक्षा गरे जसरी निशस्त्रीकरण अभियान अघि बढाउन कठिन भइरहेको उत्तर कोरियाको भनाइ छ । उत्तर कोरियाले सिंगापूरको सम्मेलनलाई शान्ति स्थापना र कूटनीतिक सम्बन्धको पहिलो चरण मात्र भएको उल्लेख गर्दै आएको छ । यसैकारण प्योङयोङले यसअघि पनि ट्रम्प र किमबीच फेरि अर्को सम्मेलन हुने बलियो सम्भावना रहेको बताएको थियो ।