लेखा परीक्षणसम्बन्धि विधेयक परिमार्जनसहित पारित

title
आइतवार, पुस २२, २०७५

काठमाडौ । संघीय संसदको अर्थ समितिले ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको छ ।

समितिको आईतवार सिंहदरबारमा बसेको समितिको बैठकले ‘लेखा परीक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ परिमार्जनसहित पारित गरेको हो । समितिका सदस्यहरुबाट प्राप्त सुझावलाई समेटेर विधेयक पारित गरिएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनु भयो ।

पारित गरिएको विधेयकमा राष्ट्रिय धनमाथि हानी वा नोक्सान भई तत्काल कार्वाही गर्नुपर्ने देखिएमा कुनै पनि बेला महालेखा परीक्षकले प्रतिवेदन तयार पारी राष्ट्रपति वा प्रदेश प्रमुखलाई बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

विधेयकमा लेखा परीक्षणसम्बन्धि ऐन कार्यान्वयनका लागि आवश्यक नियम बनाउने अधिकार महालेखा परीक्षकको कार्यालयलाई दिइएको छ । बैठकमा समितिका सदस्यहरुले भ्रष्टाचार नियन्त्रण हुने गरी लेखा परीक्षणको काम कार्वाहीलाई अघि बढाउन सरकारलाई सचेत गराएका थिए । पूर्व प्रधानमन्त्री समेत रहनु भएका समितिका सदस्य डा. बाबुराम भट्टराईले मुलुकमा सुशासन कायम हुने गरी लेखा परीक्षण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

गत साउन २१ गते प्रतिनिधिसभाको बैठकबाट यो विधेयक छलफलका लागि समितिमा पठाइएको थियो । समितिले अर्थमन्त्री, महालेखा परीक्षक, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतका सरोकारवाला निकायसँग आवश्यक छलफल छलफल गरी विधेयक परिमार्जनसहित पारित गरेको हो ।