अवैध लागू औषधसहित २ जनालाई पक्राउ

title
शुक्रबार, अशोज १९, २०७५

काठमाडौ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले अवैध लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ ।

व्युरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोरङ विराटनगर रानी घर भएका ४५ वर्षीय अरुण थापा र भोजपुरका २४ वर्षीय अम्बरबहादुर राईलाई नियन्त्रणमा लिइ सार्वजनिक गरेको हो ।

अवैध लागू औषधसहित बुधबार राति नागार्जुन नगरपालिका वडा नम्बर २ बाट थापालाई पक्राउ गरेको व्यूरोका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो । सुराकीका आधारमा अनुसन्धान गर्दै जाँदा नियन्त्रणमा लिईएको भन्दै उहाँले पक्राउ परेका थापा नेपालमा लागू औषध वितरण गर्ने मुख्य कारोबारी भएको खुलेको जानकारी दिनुभयो । थापा २०६३ असार १ गते ४४ ग्राम खैरो हेरोइन सहित पक्राउ परेका थिए ।

अदालतले उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो । २०७३ साल माघमा कैद भुक्तान गरी थुनामुक्त भएका थापा पुनः पुरानै धन्दामा फर्किएको पोखरेलले बताउनुभयो ।

पक्राउ परेका थापाको साथबाट प्रहरीले १ हजार ७ सय २५ डाइजेपाम, फेनारगन १ हजार ७ सय २५ र बुप्रिनर्फिन १ हजार ५ सय २५ एम्पुल बरामद गरेको छ । प्रहरीले बरामद गरेको लागुऔषधको बजार मूल्य ५० लाख रुपैयाँ भन्दा बढि पर्ने प्रहरीले जनाएको छ ।