अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइयो

title
मङ्लबार, कार्तिक २७, २०७५

काठमाडौँ । छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिईएको छ । मुलुकका बिभिन्न स्थानका साथै काठमाडौ उपत्यकाका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी ,वागमती, नख्खु र विष्णुमती लगायत नदी किनारमा छठ ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिएका हुन् । सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिईने स्थानमा पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप अरिपन चित्र कोरेका हुन्छन् ।

दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गर्ने प्रचलन छ । पर्वको चौथो तथा अन्तिम दिन बिहानै व्रत गर्नेहरू पुनः जलाशयमा पुगी उदाउदो सूर्यलाई अर्घ दिईने परम्परा छ । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो ।

विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा यस वर्ष काटिएको छ । दुई नं प्रदेशमा भने प्रदेश सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी , वागमती, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ ।