अस्थायी शिक्षक १६ औं दिनदेखि अनशनमा

title
शनिबार, जेष्ठ ४, २०७६

शान्ता दनुवार । सरकारले असक्षम भनेर अबकास दिएका अस्थायी शिक्षकहरु यतीबेला आन्दोलनमा उत्रिएका छन् ।

अस्थायी, करार शिक्षक संघर्ष समिति काठमाडौंको शान्ति बाटिकामा दुई सातादेखि आमरण अनसन बस्दै आएका छन् । सरकारले अवकाश दिएका कारण चार जना अस्थायी शिक्षकको हृदयघातले मृत्यु भएकोे दावी गरेका छन् । सरकारले अवकाश दिएपछि आफुहरुको रोजीरोटी नै खोसिएको उनीहरुको दुःखेसो छ ।

अनशनमा बसेको लामो समय बितिसक्दा पनि माग पुरा गर्ने सम्बन्धमा कसैले चासो दिएको छैन । उनीहरुको मागलाई कसरी सम्बोधन गर्ने भन्ने सम्बन्धमा शिक्षा मन्त्रालयका अधिकारी र नेपाल शिक्षक महासंघबीच अनौपचारिक छलफल भएको छ । तर ठोस निर्णय भने नभएको स्थायी शिक्षक जीवन सुवाल बताउँछन् ।

आमरण अनशनमा बसेका कारण उनीहरुको स्वास्थ्यमा समस्या देखिएको छ । आमरण अनशनमा पर्साकी नितु सिन्हा र जुम्लाकी राधा रावत बसेकी छिन् । सरकारले अस्थायी शिक्षकलाई उपेक्षा गरेको र न्यायोचित व्यवहार नगरेको उनीहरुको आरोप छ ।

सरकारले आफ्ना माग सम्वोधन नगरे जुनसुकै हदको आन्दोलनका कार्यक्रमसमेत गर्न पछि नपर्ने आन्दोलनरत शिक्षक शान्ता गौडेलले चेतावनी दिएका छन् ।

वैशाख २० गतेदेखि आमरण अनशनमा बसेका अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन शिक्षक सेवा आयोगले गत वर्ष नै परीक्षा सञ्चालन गरेर नतिजा समेत सार्वजनिक गरेको थियो । विगतको आन्तरिक प्रतिस्पर्धा सम्बन्धि परीक्षामा सहभागी हुन नपाएकाका लागि फेरि परीक्षा सञ्चालन गर्नुपर्ने माग उनीहरुले सरकारसँग गरेको बताउँछन्, अस्थायी शिक्षक कपलेश्वर मण्डल ।

राज्यले अस्थायी शिक्षकलाई उपेक्षित गरेको भन्दै ७७ वटै जिल्लाका अस्थायी शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।