अायअार्जनका सबै क्षेत्रलाइ करको दायरामा ल्याउने प्रधानमन्त्री अोलीको भनाइ

title
शनिबार, मंसिर १, २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयआर्जनका सबै क्षेत्रलाई करको दायरामा ल्याई स्वेच्छिक कर सहभागितामार्फत राजश्व प्रणालीलाई सक्षम र सुदृढ बनाउँदै लैजाने बताएका छन् ।

सातौँ राष्ट्रिय कर दिवसकाे शुभकामना वक्तव्य जारी गर्दै उनले भनेका छन् –“प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिँदैन । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन । आमजनताको दैनिक जीवनस्तर उकास्न प्रतिबद्ध यो सरकारले राजश्व सङ्कलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “चालू आर्थिक वर्षको असोज महीनासम्म राजश्व सङ्कलनमा ९४ प्रतिशत उपलब्धि हासिल भइसकेको छ । यस अवधिमा राजश्व सङ्कलनमा झण्डै २६ प्रतिशतले वृद्धि हुन गएको देखिन्छ । यही अवधिमा कर सङ्कलनमा ३७ प्रतिशतभन्दा बढी प्रगति भएको छ । राजश्व सङ्कलनको यो उत्साहजनक क्रमले अझै गति पाउनेछ र समृद्ध नेपाल, सुखी नेपालीको हामी सबैको सझा सङ्कल्प अवश्य पूरा गरिनेछ ।”

‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि साताव्यापी रूपमा कर दिवस मनाइदैछ ।