आँप बोकेको भारतीय ट्रक नारायणगढमा तोडफोड

title
बिहिबार, असार २६, २०७६

चितवन — नारायणगढ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिहीबार बिहानै आँप बोकेको भारतीय ट्रकमा तोडफोड भएको छ ।

बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार बिहान सवेरै सवा तीन बजे तिर ट्रक तोडफोड भएको हो। ट्रकको अगाडिको शिसा फुटेको छ। ट्रकमा चार टन भारतीय आँप थियो। स्कुटरमा चढेर आएका युवाले तोडफोड गरेको प्रत्यक्षदर्शी व्यवसायीहरूले बताए।

उनीहरूले पानीको बोतलमा पेट्रोल ल्याएका थिए। पेट्रोल छर्केर आगो लगाउन सलाइ कोर्दा सलाइ नबलेपछि उनीहरू भागेको व्यवासायीहरूले बताए। प्रबन्ध निर्देशक धितालका अनुसार यो समयमा भारतबाट आँप र अनार आउने गर्छ। नारायणगढको तरकारी बजारमा दिनमा १०–१२ वटा भारतीय ट्रक तरकारी र फलफूल ल्याएर आउने गर्दथे। विषादी परीक्षणको सन्दर्भपछि फाट्ट फुट्ट मात्रै आउने गरेका छन्।