आईपीएलमा आज चेन्नाई र राजस्थानको भिडन्त

title
बिहिबार, चैत्र २८, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा आज चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्स भिड्ने भएका छन् । राजस्थानको घरेलु मैदान सवाई मान सिंह स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ । चेन्नाईले खेलेका ६मध्ये ५ मा जित निकाल्दै शीर्ष स्थानमा छ भने राजस्थानले अहिलेसम्म एक खेलमा मात्रै जितेको छ । उसले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको थियो । आईपीएलको जारी सिजनमा चेन्नाई र राजस्थान दोस्रो पटक भिड्न लागेका हुन् । यसअघि गत ३१ मार्चमा भएको खेलमा चेन्नाईले राजस्थानलाई ८ रनले पराजित गरेका थियो ।

तर राजस्थानको घरेलु मैदानमा चेन्नाई विरुद्ध रेकर्ड भने राम्रो रहेको छ । जयपुरमा यी दुई टिमको ६वटा भिडन्तमा राजस्थानले ४ पटक बाजी मारेको छ भने चेनाईको पक्षमा २ पटक नतिजा गएको हो । चेन्नाईले राजस्थानविरुद्ध जयपुरमा सन् २०१२ मा जित निकालेको थियो । त्यसपछि सोही मैदानमा तीन वटा खेल हुँदा सबै खेल राजस्थानले जितेको छ । आईपीएलमा चेन्नाई र राजस्थान अहिलेसम्म २१ पटक भिड्दा चेन्नाई १३ पटक र राजस्थान ८ पटक विजयी भएका छन् ।

चेन्नाई जारी सिजनमा उच्च फर्ममा रहेको छ । उसले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरिरहेकाले उपाधिको दावेदारको रुपमा हेरिएको छ । चेन्नाईका तिब्रगतिका बलर दीपक चहरका साथै अनुभवि स्पीनर हरभजन सिंह र इमरान ताहिरको प्रदर्शन उच्च रहेको छ । ब्याटिङमा अम्वाती रायडू फर्ममा आउन खोजि रहेका छन् । उनी बाहेक फाप डू प्लेसिस, शेन वाट्सनको ब्याटबाट राम्रो रन बनेको छ भने डेथ ओभरमा क्रिजमा आउने कप्तान महेन्द्रसिंह धोनीले म्याच फिनिसरको भूमिका खेल्दै आएका छन् ।

उता राजस्थानको ब्याटिङ भने जोस बटलर र अजिंक्या रहाणे माथि केन्द्रीत हुने गरेको छ । युवा व्याट्सम्यान सन्जु सेमसनले शतक बनाए पनि त्यस्तै प्रदर्शन अरु खेलमा गर्न सकेका छैनन् । त्यसैगरी स्टीव स्मिथ र बेन स्टोक्सले घरेलु मैदानको रेकर्ड कायमै राख्न चेन्नाईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न जरुरी छ ।