आगोमा जलेर झापामा एकै परिवारका ४ को मृत्यु (अपडेट)

title
सोमवार, मंसिर १०, २०७५

शिशिर चौम्लागांई/झापा

झापाको शिवसताक्षी नगरपालिका वडा नं ७ को लालझोडामा आइतबार राति भएको आगलागीमा एक नावालक सहित एकै घरका ४ जनाको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३४ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती २९ वर्षीय राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा र ५ महिनाका छोरा टिकारामको मृत्यु भएको हो । आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल गम्भीर घाइते भएकी छिन् । उनलाई उपचारका लागि विराटनगर लगिएको छ ।

आगलागीले घर पूर्णरुपमा जलेकाले के कारणले आगलागी भयो भन्ने अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।  राति करिब साढे १० वजे स्थानीय खनालको घरमा आगो लागेको थियो ।

स्थानीयका अनुसार ट्रयाक्टर र थ्रेसर समेत चलाउदै आएका खनालको उक्त २ तले काठको घरमा पेट्रोलियम पदार्थ समेत राख्ने गरिएको थियो । पेट्रोलियम पदार्थका कारण आगो चाँडै सल्केर मानवीय क्षती भएको प्रहरीको अनुमान छ । शिवसताक्षी नगरपालिकाको आफ्नै दमकल नहुँदा आगो समयमै नियन्त्रण गर्न नसकिएको र दमक नगरपालिकाबाट आगो निभाउन पुगेको दमकल क्षती भइकेको थियो ।