आजको मौसमः देशभर दिनभर बदली हुने

title
आइतवार, पुस २२, २०७५

काठमाडौँ । देशभरको मौसम आइतबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी क्षेत्रमा दिनभर सामान्यदेखि पूर्ण बदली हुने मौसमविदको पूर्वानुमान छ ।

पश्चिमबाट आएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण मौसम बदली भएको हो । दिउँसो यो प्रणालीको क्रमिक रुपमा मध्य र पूर्वका क्षेत्रमा पनि पर्ने भएकाले मध्य र पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । यसको प्रभाव सोमबारसम्म नै रहने मौसमविदले बताएका छन् ।

आइतबार पश्चिमका केही क्षेत्रमा हल्का पानी पर्ने सम्भावना रहेको छ । मध्य र पूर्वी क्षेत्रमा पानी पर्ने सम्भावना नदेखिए पनि बदली हुने मौसमविदको अनुमान छ । काठमाडौँ उपत्यकामा पनि दिनभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ । तराईका क्षेत्रको मौसम पनि बदली हुनेछ ।

काठमाडौँ उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम २.१ डिग्री मापन गरिएको छ । बादल लागेकाले न्यूनतम तापक्रम अघिल्ला दिनको तुलनामा केही बढेको हो । दिउँसो तापक्रम बढेर १५ देखि १७ डिग्रीसम्म पुग्ने अनुमान छ ।