आजबाट दसैं शुरु, वैदिक विधिपूर्वक घर–घरमा घटस्थापना

title
बुधबार, अशोज २४, २०७५

काठमाडाैं ।  नेपालीहरुको महान चाड वडदसैंको पहिलो दिन आज घटस्थापना । विजयादशमीको पहिलो दिन आज सबै नेपालीहरुले आ–आफ्नो घरघरमा जमरा राख्ने गर्दछन् ।

आजबाट नवरात्र शुरु भएको र घटस्थानपाको शुभ साइत विहान ७ बजेर १५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौं, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ ।

जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ । घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याई जमरा राखिन्छ ।

जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ । यसैबीच घटस्थापनाको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।

यो वर्षको वडा दसैं कात्तिक २ गते परेको र टीकाको शुभ साइत ९ बजेर ५१ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असोज २८ गते पचली भैरव यात्रा, ३० गते फूलपाती, सोही दिन बिहान ९ः२१ बजे तुलजा यात्रा र ३१ गते महाअष्टमी र कात्तिक १ गते महानवमी रहेको छ ।