आज नागपञ्चमी, किन टासिन्छ घरको ढोकामा नाग ?

title
बिहिबार, साउन ३१, २०७५

काठमाडौं । सनातन हिन्दु धर्मावलम्बीहरू आज नागपञ्चमी पर्व मनाउँदैछन्। यो दिन बिहान मूलढोकामा नागको तस्विर टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ।

शास्त्रमा अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नागका आठ प्रकारका नाग हुने बताइएको छ। विधिपूर्वक नागको पूजा गर्नाले नागहरू प्रसन्न हुने र वर्षभरि विषालु जीवहरूको भय नहुने विश्वास गरिछ।

साथै सर्प, बिच्छी खजुर आदि विषालु जीवको पनि पूजा गरिन्छ। चट्याङले घरमा हानि नोक्सानी नपुर्‍याओस् भन्ने उद्देश्यले बज्रवारकहरूको पूजा गर्ने परम्परा पनि छ। यो दिन गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यु, दुध आदिले धारा दिई दुबो, धानको लाबा आदि वस्तु चढाई गन्ध, पुष्पाले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि शास्त्रहरूमा छ।

हिन्दुधर्ममा एकातिर भगवान् शिवको गहनाको रूपमा सर्प रहेका छन् भने भगवान् विष्णुको आसनको रूपमा शेषनाग रहेका छन्। यसैले हिन्दुधर्ममा नागको महत्त्व महत्वपूर्ण मानिएको छ।

किन टासिन्छ नागको चित्र ?

नाग पञ्चमीका दिन मानिसहरुले आफ्नो घरको मुलद्वारामाथि नागको फोटो टासी नागको पूजा गर्ने गर्दछन् । गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुवो, धानको लाबा आदि पदार्थहरू चढाई गन्ध, पुष्पादिले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि पुराणमा उल्लेख छ।

यसरी विधिपूर्वक नागको पूजा आराधना गर्नाले नागहरू प्रसन्न हुने र वर्षभरि सर्प, बिच्छी आदि विषालु जीवहरूको भय हुँदैन भन्ने मान्यता छ। हिजोआज हिन्दू धर्मावलम्बीहरूले आ–आफ्नो घरको मूलद्वारमा नागको चित्र टाँसेर पूजा गर्ने चलन छ।
मूलढोकाको दुवैतिरतिर गोबरको नाग बनाएर विधिविधानसँग पूजा गर्ने परम्परा कालान्तरमा परिवर्तन भई ढोकामा चित्र टाँस्ने चलनमा परिवर्तन भएको हो। प्रकृतिप्रति पनि सचेत यो दिनलाई नाग वा सर्पप्रति मात्र नभई अन्य जीव वा प्रकृतिसँग आत्मीयता दर्शाउने दिनको रूपमा समेत लिइन्छ।

वैदिक ग्रन्थहरूमा स्वर्गका ज्योतिर्मय स्थानमा रहेका नदेखिने सर्प, सूर्यको किरणमा रहने सर्प, जलमा रहने एवं देखिने रूपमा वृक्ष आदिमा रहने सर्प र पृथ्वी, अन्तरिक्ष एवं द्युलोकमा रहने सर्पहरूको वन्दना गरिएको छ।

पौराणिक ग्रन्थहरूमा पनि सर्पको महिमा प्रशस्त गाइएको छ। एकातिर भगवान् शिवको गहनाको रूपमा सर्पको महत्त्व छ। अर्कोतिर भगवान विष्णु शेषनागलाई शय्या बनाएर सुतेका छन्। श्रीमद्भागवतमा विष्णुकै रूपमा शेषनागको वर्णन गरिएको छ। शिवपुराणमा वासुकी नाग शिवको कण्ठमा बेरिएर रहेको वर्णन छ। विभिन्न पुराणमा नागहरूको आफ्नै छुट्टै लोेक ’नागलोक’ भएको बताइएको छ । साथै नागवंशको बारेमा थुप्रै आख्यान पनि पाइन्छन्। अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नाग आठ प्रकारका छन्।

देवमाता अदीतिकी बहिनी कद्रुले नागवंशी कन्या उत्पत्ति गरेकी थिइन्। नागवंशी कन्याहरूको विवाह कश्यप ऋषिसँग भएको पुराणमा उल्लेख छ। यसैगरी भगवान् कृष्णको साथै अर्जुनले नागकन्यासँग विवाह गरेको प्रसंग महाभारतमा आउँछ।

र्जुनका पनाति जनमेजयसँग नागराजाले मैत्रीसम्बन्ध स्थापना गरेको आदि सन्दर्भले नागजाति र मानिसबीचको सम्बन्ध पुरानो भएको प्रसंग पाइन्छन्। पछिल्लो समयमा पनि भारतका विभिन्न भागमा नागवंशी राजाहरूले राज्य गरेको इतिहासमा पाउन सकिन्छ। तिनका सन्तानहरू अझै पनि भारत र नेपालका विभिन्न भागमा रहेका बताइन्छ।

नेपालका केही जातिले पनि आफूलाई नागजाति बताउने गर्दछन्। हिन्दू समाजमा नागपञ्चमीको दिनलाई नागपूजा गरेर मानिस र सर्पजातिबीच रहेको भयलाई हटाउँदै आत्मीय सम्बन्ध स्थापना गर्ने दिनको रूपमा लिइन्छ।

यसैगरी प्राचीन संस्कृति र इतिहासलाई अध्ययन अनुसन्धान गरेर सर्प र मानिसबीचको दूरी हटाउन यो दिनको ठूलो महत्त्व छ।