आज राष्ट्रपति स्वदेश फर्किंदै

title
बिहिबार, कार्तिक १५, २०७५

काठमाडौं । कतारको चार दिने भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ । कतारी राजा शेख तमिम विन हमाद अलथानीको निम्तोमा राष्ट्रपति भण्डारी गत सोमवार दोहा जानु भएको थियो ।

दोहास्थित अमिरि भवनमा दुई राष्ट्र प्रमुखबीच भएको भेटवार्तामा नेपाली कामदार, लगानी, कृषि, पर्यटन लगायतका क्षेत्रमा भैरहेको साझेदारीका विषयमा कुराकानी भएको थियो ।

राष्ट्रपति भण्डारी र कतारी अमिर अल थानीको रोहबरमा दुई मुलुकका कुटनितिक राहदानी बाहकका लागि प्रवेशाज्ञा आवश्यक नपर्ने सहमती पत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र कतारका उपप्रधान तथा विदेशमन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अल थानीले हस्ताक्षर गर्नुभएको छ ।

दुई मुलुकबीच कृषि तथा खाद्य सुरक्षा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति भण्डारीले कतार च्याम्बरले आयोजना गरेको नेपाल कतार ब्यापार फोरममा सम्बोधन गर्नुभएको छ ।

दोहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न स्थानीय व्यवसायीलाई आग्रह गर्नुभएको थियो । उहाँ नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा समेत सहभागी हुनु भएको थियो ।