आज विराटनगर र धनगढी तथा बुटवल र पोखरा भिड्दै

title
आइतवार, कार्तिक ११, २०७५

पोखरामा पीपीएलको रौनक
कास्की । पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार पनि दुई वटा खेल हुँदैछन् । आज हुनेपहिलो खेलमा विराटनगर टाइटन्स र एक्सपर्ट धनगढी ब्लुज तथा दोस्रो खेलमा बुटवल ब्लास्टर्स र पोखरा पल्टनबीच खेल हुनेछ । यसअघि हिजो भएका दुई वटा खेलमध्ये काठमाडौं रोयल्स र बुटवल ब्लास्टर्सले जित हात पारेका छन् । शनिबार भएको दोस्रो खेलमा काठमाडौंले धनगढीलाई १७ रनले पराजित गरेको हो भने पहिलो खेलमा बुटबल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको हो ।

काठमाडौंले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याएको एक्सपर्ट धनगढी ब्लुजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रनको अर्धसतकीय इनिङ्स खेलेपनि टिमलाई जिताउन सकेन । उनले ४२ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे । मध्यम शुरुवात गरेको धनगढीका लागि सन्दीप जोराले २७ रन जोडे । ११ बल खेलेका जोराले ३ छक्का र र १ चौका प्रहार गरे । सौरभ खनाल १४ बलमा १७ रन बनाउँदै पेभेलियन फर्किए । पिटर डेभिड ट्रेगोले १९ रन बनाए । सन्दीप सुनारले ११, ड्यानियल लरेन्स ८ रनमा आउट भए । मन्जित श्रेष्ठ ४ रनमा आउट भए । सन्तोस भट्ट ७ रनमा नटआउट रहे ।

काठमाडौंका सुसन भारी, अमरसिंह राउटेला र बसन्त रेग्मीले समान २ विकेट लिए । नन्दन यादव र गौरव तोमरले समान १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको योगफल खडा गरेको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गौरवले ४४ बलमा ९५ रन जोडे । उनले ४ चौका र १० छक्का प्रहार गरेका थिए । उनलाई तेस्रो विकेटका लागि नरेश बुढाएरले राम्रो साथ दिएका थिए । यी दुइले ९६ रनको साझेदारी गरे । नरेशले २४ बलमा २ चौका र २ छक्कासहित ३६ रनको आक्रामक इनिङस खेले । त्यसअघि काठमाडौंका लागि दुवै ओपनरले औसत सुरुवात दिएका थिए । अमित श्रेष्ठले २१ बलमा १२ रन जोडे । जयकिशन कोल्सावालाले ३० बलमा २५ रन जोडे । उनले गौरवसँग दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । धनगढीका लागि पिटर ट्रेगो, दीपेन्द्र सिंह ऐरी र सागर ढकालले १–१ विकेट लिन सफल भएका थिए ।

त्यस्तै, शनिबारको पहिलो खेलमा बुटबल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको हो । बुटवलले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा चितवन १७ औं ओभरमा ६५ रनमा अलआउट भयो । तीव्र गतिका बलर सोमपाल कामीले घातक बलिङ गरेपछि चितवनको शीर्षक्रम ध्वस्त भएको थियो । सोमपालले ३ ओभरको पहिलो स्पेलमा ८ रन खर्चेर ४ विकेट लिएका थिए । उनले ओपनर अनिल साह, कप्तान पारस खड्का, आरिफ शेख र स्मित पटेललाई आउट गरेका थिए । चितवनका दुवै ओपनर शून्यमा आउट भएका थिए भने आरिफ पहिलो बलमै पेभेलियन फर्किए । तेस्रो ओभरमै चितवनले १० रनको स्थितिमा ४ विकेट गुमाएको थियो ।

भुवन कार्कीले सर्वा्धिक १९ रन तथा कप्तान पारस खड्काले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बुटवलका लागि सोमपालले ४, ललित सिंह भण्डारीले २ तथा रोहन मुस्तफा, विपिन खत्री र अभिनाश बोहोराले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । खराब सुरुवात गरेको बुटवलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान सागर पुनले ४६ रनको योगदान दिए । सागर र शंकर रानाले चौथो विकेटको लागि ६८ रनको साझेदारी गर्दै बुटवलको इनिङ्स उकासेका थिए । शंकर रानाले ४८ रन बनाए । सिद्धान्त लोहनी १७ रनमा नटआउट रहे । कप्तान सोमपाल कामीले ६ रन बनाएका थिए ।