
काठमाडौं। आज विश्व मधुमेह दिवस, ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिएको छ । दिवसको सन्दर्भमा गएको शुक्रवारदेखि विभिन्न संघसंस्थाले कार्यक्रम गर्दै आएका छन् ।
नेपालमा बढ्दै गएको मधुमेहको समस्या, यसको असर, पहिचान, उपचार र रोकथामका उपायबारे जनचेतनमूलक सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको हो । पछिल्लो समय नेपालमा मधुमेहको समस्या बढ्दै गएको छ । बालबालिका, युवा र ज्येष्ठ नागरिक सबै उमेर समूह यसको जोखिममा रहेका डाक्टरले बताएका छन् ।
डाक्टरहरुले मधुमेह हुने सबैभन्दा जिम्मेवार कारण जीवनशैलीलाई मान्छन् । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने गम्भीर समस्या नआउने डाक्टरको भनाइ छ ।
मधुमेहका बिरामीले स्वास्थ्य उपचारमा ध्यान नदिए मिर्गौला, कलेजो, मुटु, आँखा लगायतका महत्त्वपूर्ण अङ्गमा असर पुग्ने गर्छ ।