आज विश्व साक्षरता दिवस, नेपालमा ३ लाख सर्वसाधारण अझै निरक्षर

title
शनिबार, भदौ २३, २०७५

काठमाडौं– सेप्टेम्बर ८, अर्थात विश्व साक्षरता दिवस । शनिबार नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

यसपटकको विश्व साक्षरता दिवसका लागि विश्व साक्षरता संस्थाले ‘एउटा डिजीटल संसारमा साक्षरताको महत्व’ भन्ने नारा तय गरेको छ । दिवसका अवसरमा गत आइतबारदेखि नै साताव्यापी कार्यक्रम शुरु गरिएको थियो ।

शिक्षा मन्त्रालयको तथ्याङकमा ३० जिल्लाका ३ लाख सर्वसाधारण अझै साधारण लेखपढसम्म गर्न नसक्ने उल्लेख छ । अहिलेसम्म ४७ जिल्ला साक्षर घोषित भएका छन् ।

सरकारले साक्षरता अभियानका लागि ७ अर्बभन्दा बढी रकम खर्च गरिसकेको छ । १५ देखि ५९ वर्ष उमेर समूहका निरक्षरलाई पढ्न र लेख्न सक्ने बनाउने उद्देश्यले २०६५ सालमा राष्ट्रिय साक्षरता अभियान सुरु भएको थियो ।

२०६७ सालमा पुनः सर्वेक्षण गर्दा ५१ लाख ७३ हजार ९ सय ७९ जना निरक्षर भेटिएका थिए । पछिल्लो सरकारी तथ्याङ्कमा निरक्षरको संख्यामा उल्लेख्य कमी आएको देखिएको छ तर पनि साक्षर भनी घोषणा गरिएका जिल्लामा पनि नमुना सर्भेका भरमा आएका रिर्पोटका आधारमा मात्रै घोषणा गरिएको शिक्षाविदहरुको भनाई छ ।