आज हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदै

title
मङ्लबार, कार्तिक २७, २०७५

काठमाडौं । आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिई सुरू हुने छठ पर्वका लागि राजधानीका आठ स्थानमा विशेष व्यवस्था गरिएको छ ।  बुधबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवत् रुपमा छठ पर्व समापन हुन्छ । विगत वर्षझैँ यो वर्ष पनि तराई र काठमाडौँमा समेत हर्षोल्लासका साथ यो पर्व मनाइने तयारी गरिएको हो ।

राजधानीको गुहेँश्वरी, गौरीघाट, बालाजुको माछापोखरी, सानो गौचरणको गहना पोखरी, कालिमाटी, ललितपुरको कुपण्डोल, नख्खु दोबाटो गरी आठ स्थानमा यो पर्व मनाउनका तयारी गरिएको छ । राजधानीमा आयोजित छठ समारोहका दुई ठाउँमा राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता हुने भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले राजधानीको गुहेँश्वरी र कमलपोखरीमा आयोजित छठ पूजा समारोहमा राष्ट्रपति भण्डारीको सहभागिता हुने जानकारी दिनुभयो ।

गुहेँश्वरी छठ पूजा समितिका संयोजक राजकुमार पोद्दारले ६६५ जना ब्रतालुका लागि ठाउँ निर्माण गरिएको जानकारी दिनुभयो । गुहेँश्वरीमा आयोजना हुने छठ पूजामा सहभागी ब्रतालुमध्ये ४० प्रतिशत पहाडी समुदायको सहभागिता हुने गरेको उहाँले बताउनुभयो । यसपालि पहाडी समुदायको सहभागिता अझै बढ्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

छठ पूजा समारोहमा विगतझैँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेतालाई आमन्त्रण गरिएको जानकारी समेत उहाँले दिनुभयो ।

कमलपोखरी छठ पूजा समितिका महासचिव रामकुमार जैनले ३१० जना ब्रतालुले आफ्नो ठाउँ (घाट) सुरक्षित गराइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार, गत वर्ष २७३ जनाले यहाँ छठ पूजा गरेका थिए । ठाउँ सुरक्षित गर्न अनिवार्य शुल्कको व्यवस्था नगरिएको उहाँले बताउनुभयो । विगत आठ वर्षदेखि कमल पोखारीमा छठ मनाइँदै आएको छ ।

कमल पोखरीमा अतिथिको रुपमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेतालाई आमन्त्रण गरिएको छ ।

त्यसैगरी, छठ पूजा तथा समाज सेवा समिति, कुपण्डोलका अध्यक्ष राकेश मेहताले कुपण्डोलमा आयोजना गर्न लागिएको छठ पूजा समारोहमा सोमबार दिउँसोसम्म १५० जना ब्रतालुले ठाउँ सुरक्षित गराइसकेको जानकारी दिनुभयो ।