आठौं राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट शुक्रबारबाट

title
बुधबार, मंसिर १२, २०७५

काठमाडौं । आगामी माघमा प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट शुक्रबारदेखि सुरु हुने भएको छ । जिल्ला छनोट ७७ जिल्लामा मंसिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने आठौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख इन्द्रबहादुर कार्कीले जनाएका छन् ।

आठौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेल मध्ये २० खेलको जिल्ला छनोट हुनेछ । २० खेलमा बक्सिङ, भारोत्तोलन, क्रिकेट, बास्केटबल र ह्यान्डबलको महिला जिल्ला छनोट हुने छैन । यी ५ खेलको सीधै प्रदेश छनोट सञ्चालन गरिने छ । जिल्ला छनोटमा ३१ हजार ८ सय ४५ खेलाडीले सहभागिताका नाम दर्ता गरएका छन् । जिल्ला छनोटका लागि २ करोड ७८ लाख ४० हजार रुपैयाँ बजेट पठाइसकेको सचिवालयले जनाएको छ ।

यसैबीच, राष्ट्रिय खेलकुद विकास ऐनको मस्यौदालाई अर्थमन्त्रालयले राय सहितको सहमति प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले जारी गर्न लागेको नयाँ खेलकुद विकास ऐनलाई अर्थमन्त्रालयले ४ वटा सुझाव सहित सहमति दिएको हो ।

२०४८ पछि पहिलो पटक बन्न लागेको राष्ट्रिय खेलकुद विकास ऐनलाई आगामी हिउँदे अधिवेशनमार्फत पारित गर्ने तयारी खेलकुद मन्त्रालयको तयारी छ । ऐनको मस्यौदालाई अर्थले राय सहित सहमति प्रदान गरेपछि खेलकुद मन्त्रालयले त्यसलाई अन्तिम पटक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने तयारी गरेको छ ।

अर्थमन्त्रालयले बोर्ड गठनको सदस्य संख्या घटाउन, परिषद्को बैठक बर्षको २ पटक मात्र आह्वान गर्न, समिति गठनमा सदस्य संख्या घटाउन र कर छुटको व्यवस्था हटाउन खेलकुद मन्त्रालयलाई सुझाव दिएको छ ।

अर्थको सुझाव सहित मस्यौदालाई अन्तिम रुप दिएर खेलकुद मन्त्रालयले ऐनको ड्राफ्टलाई कानुन मन्त्रालयमा पठाउने तयारीमा जुुटेको छ । खेलकुद मन्त्रालयले राज्य पुर्नसंरचना अनुसार खेलकुदको ऐनलाई परिवर्तन गर्ने तयारी गरेको हो ।