आठौं राष्ट्रिय खेलकुद : दस खेलमा प्रतिस्पर्धा हुँदै

title
शुक्रबार, बैशाख ६, २०७६

बाँके/लक्ष्मण ढुंगाना ।
प्रदेश नम्वर पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बाँके र बर्दियामा विभिन्न १० खेलमा प्रतिस्पर्धा हुँदैछ । शुक्रबार हेन्डबल महिला पूरुष, आईटीएफ तेक्वान्दो, फुटबल, भलिबल, क्रिकेट, जिम्न्याटीक, आर्चरी, सेपाताक्रो, खो खो लगायतका खेलमा प्रतिस्पर्धा हुने लागेका हो ।

जसअनुसार हेण्डबलको पुरुष नेपालगंज रंगशाला र महिला जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरमा हुनेछ । आईटिएफ तेक्वान्दो महेन्द्र बहुमुखि क्याम्पस र भलिबल महिला पुरुष भलीबल एकेडेमी सितापुरमा हुनेछ । त्यस्तै फुटबल पुरुष खजुरा, क्रिकेट कोहलपुरको क्रिकेट मैदानमा संचालन हुने आयोजकले जनाएको छ ।

त्यसैगरी आज बिहान ८ बजे देखि जुडो हल नेपालगन्जमा जिम्नयाटिक र प्रहरी तालिम केन्द्र बाँकेमा आर्चरी खेल संचालन भईरहेका छन भने बर्दियाको गुलरिया स्थित कभर्ड हलमा अहिले सेपाताक्रो र भुरिगाउँमा खो खो महिला पुरुषको खेल संचालन भईरहेका छन । यसअघि हालसम्म विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भईसकेका छन । जसअनुसार हिजोसम्म १ सय ३ स्वर्णसहित कुल ३ सय ८४ स्वर्ण पदकको टुंगो लागिसकेको छ ।

जसमा आर्मी पहिलो, नेपाल पुलिस दोस्रो र एपीएफ तेस्रो स्थानमा रहेको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३५ खेल समावेश छन् । पहिलो पटक प्याराग्लाइडिङ खेल समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।

प्रतियोगितामा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५ हजार २ सय ११ खेलाडी सहभागी छन् । ३ सय ७२ स्वर्ण, त्यत्ति नै रजत र ५ सय ६३ कांस्यका लागि भिडन्त हुनेछ ।