आठ महिनामा, आठ अर्ब राजश्व असुली

title
बिहिबार, चैत्र २१, २०७५

लक्ष्मण ढुङ्गाना/बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षको आठ महिनामा ८ अर्ब रुपैया राजश्व संकलन गरेको छ ।

कार्यालयको दोस्रो चौमासिकसम्मको लक्ष्य ७ अर्ब ७६ करोड ७९ लाख ६१ हजार रहेकोमा ८ अर्ब ८ करोड ३१ लाख ८९ हजार अर्थात १ सय ४ प्रतिशत संकलन गरेको हो । यो लक्ष्य भन्दा ३१ करोड ५२ लाख २८ हजार रुपैयाँले बढी भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

यस अवधिमा कार्यालयले भन्सार राजश्व ३ अर्ब ९१ करोड ५१ लाख, मुल्य अभिबृद्धि कर ३ अर्ब ६७ करोड ७० लाख, अन्त शुल्क १९ करोड ३४ लाख र अन्य राजश्व २९ करोड ७५ लाख संकलन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक बर्षको सोही अवधिको तुलनामा चालु आर्थिक बर्षको फागुनसम्म २ अर्ब १७ करोड ५० लाख १२ हजार अर्थात करिव ३७ प्रतिशत बढी राजश्व संकलन गरेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताउनुभयो ।

कार्यालयको यस आर्थिक बर्षको जम्मा लक्ष्य १२ अर्ब ३३ करोड रहेको छ । पश्चिम तराईको प्रमुख नाका भएका कारण कर्णाली प्रदेशका साथै प्रदेश नम्वर ५ र ७ मा सामान आयात हुने यस नाकावाट चालु आर्थिक बर्षको आठ महिनामा हाईस्पीड डिजेल, चामल, एलपि ग्याँस, पेट्रोल, आलु, औधोगिक मेसीनरी, मकै, पत्थर कोईला लगायत विभिन्न बस्तुको आयात बढी भएको पाईएको छ ।