आदिवासी जनजातिका घर लोप हुँदै

title
मङ्लबार, मंसिर १८, २०७५

तनहु । बढ्दो आधुनिकता र शहरीकरणले ग्रामीण क्षेत्रका परम्परागत घरहरु समेत लोप हुँदै गएका छन् ।

ग्रामीण बस्तिमा विशेष गरी आदिवासी जनजातिहरु बसोवास गर्ने परम्परागत घुमाउने घर तथा मौलिकता बोकेका कलात्मक घरहरु अहिले प्रायः खण्डहरमा परिणत भइसकेका छन् ।

यस्तो अवस्थाकाबीच आदिवासी जनजाति महासंघले भने पूराना घरको संरक्षण अभियान सुरु गरेको छ ।

मानीसको आर्थिक स्तर बृद्धि भएसँगै ग्रामिण भेगका पूराना र कलात्मक घरहरु पनि विस्थापित हुने क्रम बढेको छ ।

जीवनस्तरमा भएको परिवर्तनसँगै शहर बजारमा मात्र हैन ग्रामीण क्षेत्रमा समेत कंक्रिटयुक्त घरहरु ठडिने क्रम बढ्दो छ ।

क्रकिंटयुक्त घरका कारण नयाँ पुस्ता मौलिक घरबारे अनभिज्ञ हुन थालेका छन । यसले कुनै न कुनै रुपमा नयाँ पुस्तालाई सग्लो रुपमा मौलिक संस्कृति हस्तान्तरणमा समेत असर पार्ने विज्ञहरु बताउँछन ।

यस्तै चिन्ताकाबीच आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँले भने पूराना र मौलिक अस्तित्व बोकोका घरको संरक्षण गर्न अभियान थालेको छ ।

महासंघले मेला महोत्सवमा आदिवासीका कला, संस्कृति, भेषभूषा प्रदर्शनीलाई प्राथमिकता दिन थालेको छ ।

यसैको उदाहरण अहिले दमौलीमा चलिरहेको तेस्रो आदिवासी जनजाती सांस्कृतिक एवं पर्यटन महोत्सव भएको छ ।

“अमुल्य भाषा, संस्कृतिको संरक्षण गरौं, भाषा, संस्कृतिको जगेर्ना गर्दै, पर्यटनको विकास गरौं” भन्ने नाराका साथ सञ्चालित महोत्सवमा जनजातिका घरहरु आकर्षणको केन्द्र बनेका छन ।

परम्परागत घरमा कृषि कर्ममा प्रयोग गरिने हलो, कोदालो, हँसिया, खुकुरी, ढिकी, जातो, ढकिया आदि राएिका छन ।

जहाँ मकै, धान, फर्सि, कुपिण्डो जस्ता सामाग्रिहरु समेत राखेर परम्परागत गाउँघरको झल्को दिइएको छ ।

सांस्कृतिक महोत्सव स्थलमा मगर, गुरुङ, दरै, कुमाल, भुजेल लगायतका जनजातिको घर निर्माण गरिएका छन् ।

जिल्लामा वसोवास गर्ने विभिन्न जनजातिको भाषा, संस्कृति र पहिचान झल्कने भेषभूषामा सजिएर साँस्कृतिक झाँकी, सांगितिक कार्यक्रम तथा नृत्यहरु प्रस्तुत गरिएका छन ।

महोत्सवबाट भएको आम्दानीले महासंघको निर्माणाधीन भवन सम्पन्न गर्ने, आदिवासी जनजातिको जीवन्त सांस्कृतिक संग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको छ ।

महोत्सव कात्तिक ३० देखि मंसिर ११ गतेसम्म सञ्चालन गरिएको थियो । नयाँ पुस्ताले बिर्सिने अवस्थामा पुगेको आदिवासी जनजातिका सांस्कृतिक एवं मौलिक कलात्मक घरलाई महोत्सवले पुनः एक पटक उजागर गरको अपेक्षा गरिएको छ ।