आना बोल्ड अवतारमा प्रस्तुत

title
बुधबार, भदौ २०, २०७५

काठमाडौं । ‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा स्टारर फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नेपालमा निर्मित यो पहिलो अंग्रेजी फिल्म हो । अमेरिका र नेपालमा खिचिएको फिल्मको ट्रेलरमा अभिनेत्री आनाले बोल्ड सिन दिएकी छन् । तर, यसलाई विशेष ‘स्पेश’ भने दिइएको छैन ।

यस्तै, थिम पोतिएको पोस्टरमा फिल्मका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका नकिम उद्दिन यस फिल्मका निर्माता हुन् । नेपाली कथा अन्तर्राष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको निर्माताको कथन छ । पेमा धोन्डुप निर्देशक हुन् । फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथालाई समेटेको जनाइएको छ । निर्देशक धोन्डुपले भने, ‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुईवर्ष रिसर्च गरेँ । अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको हो ।’

फिल्ममा आनासँगै अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी छ । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

आइतबार अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा ट्रेलर–पोस्टर लन्च गरियो । थिम पोतिएको पोस्टरमा फिल्मका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । पृष्ठभूमिमा नेपाली ऐतिहासिक सम्पदा देख्न सकिन्छ । ट्रेलर निकै नै आकर्षक बनाइएको छ ।

पाँच करोड लगानीमा निर्माण भएको फिल्म ‘द म्यान फ्रम काठमाण्डू’को निर्माताले हलिउड, बलिउड र नेपालमा एकैसाथ फिल्म रिलिज गर्ने तयारीमा आफूहरु जुटेको बताए । चलचित्रको ट्रेलर र पोष्टर सार्वजनिकसँगै निर्माण पक्ष चलचित्रको प्रचार प्रसारमा जुटेको छ । नर्माता नकिमले भारतीय, पाकिस्तानी र केही हलिउड कम्पनीले नेपालको पहिलो अंग्रेजी फिल्मको वितरणमा चासो व्यक्त गरेको जनाए ।