आपूर्ति मन्त्रालयको टोली बिहान ३ बजे कालीमाटी पुगेपछि…

title
सोमवार, भदौ ४, २०७५

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक टोलीले कालिमाटी फलफूल तथा तरकारी बजारमा छापा मारेको छ। राजधानीका लागि तरकारी तथा फलफूल बिक्रि हुने प्रमुख बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा मन्त्रालयको टोली बिहान करिब ३ बजे पुगेको हो ।

टोलीले तरकारीमा बिचौलियाको उपस्थिति शून्यमा झार्ने लक्ष्यसहित विभिन्न स्थानबाट कसरी तरकारी भित्रन्छन् भन्ने सम्बन्धमा अनुगमनका लागि त्यहाँ पुगेको हो। सो क्रममा बिलबिजक, कसको र कहाँबाट ल्याइएको इत्यादी नखुलेपछि तरकारी बोकेका २ ट्रक नियन्त्रणमा नियन्त्रणमा लिएको छ।

दुई ट्रकमध्ये ना४च ६६३४ नम्बरको ट्रकका चालक सुदिप दराईलाई नियन्त्रणमा लिएपनि बा६च ९६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ भने फरार भएका प्रहरीले जनाएको छ। महानगरीय प्रहरीकाअनुसार नियन्त्रणमा लिइएका चालकसँग सोधपुछ तथा थप अनुसन्धान जारी छ।

तरकारी बोकेका ट्रक र चालकलाई पक्राउ गरिएपछि व्यवसायीहरुले अनुगमन कार्यमा अवरोध गरेका छन्। पछिल्लो समय तरकारीको मूल्य अस्वभाविक महंगिएपछि केही दिनअघि आपूर्ति विभागको टोली धादिङ, चितवन, मकवानपुर लगायतका तरकारी उत्पादन हुने स्थान पुगेर अनुगमन गरेर फर्केको थियो।