आफ्नै भाईको हत्या गरेको आरोपमा तनहुँबाट तीन जना पक्राउ

title
बुधबार, माघ २३, २०७५

नारायण खड्का/तनहुँ । आफ्नै भाईको हत्या गरी ईनारमा लास लुकाएको आरोपमा तनहुँमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लमजुङ दुधपोखरी गाउँपालिका–२ स्थायी घर भएकी २८ वर्षीय मन कुमारी बिक, लमजुङ दोर्दी गाउँपालिका–३ लामागाउँ स्थायी घर हाल तनहँको भानु नगरपालिका–९ काउरेटार बस्र्दै आएका बर्ष २४ का आयुष बि.क. र ३५ वर्षीया मन माया बिकलाई पक्राउ गरेको हो ।

भानु–९ काउरेटार स्थित राम प्रसाद हड्खलेको बारीमा सिंचाईका लागि बनाइएको ईनार भित्र गत सोमबार सडेगलेको अवस्थामा पुरुष व्यक्ति शव प्रहरीले बरामद गरेको थियो । जाँचबुझ तथा अनुसन्धान पश्चात शव स्थानीय २६ वर्षीय राजु विकको भएको प्रहरीले पत्त लगाएको थियो । घटनामा मृतककी दिदी मन कुमारी समेतको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

गत मंसिर १२ गते राती कुटपिट एवं चिरपट दाउराले प्रहार गरी नाम्लोले घाँटीमा कसी विकलाई मारिएको पाइएको जिल्ला प्रहरी कार्यालय तनहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई कर्तब्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।