आफ्नो हत्याको प्रयास भएको प्रचण्डको खुलासा

title
बिहिबार, साउन १७, २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जातीय पहिचानको सवाल उठाउदा आफ्नो हत्याको प्रयास भएको खुलासा गर्नुभएको छ ।

नेपाल आदिवासी जनजाती महासंघले बिहीबार काठमााडौमा आयोजना गरेको संघीयता कार्यान्वयन र जातीय पहिचानको सवाल बिषय कार्यक्रममा मोहन बैद्य किरणको पार्टीले २०७० सालको निर्वाचनमा आफ्नो हत्या गर्न खोजेको खुलासा गर्नुभएको हो ।

पहिचान सहितका संघियता र संघियता सहितको संबिधान नारा बोकेर आफुहरु निर्वाचनमा गएको र त्यही बेला आफुमाथि बम प्रहार भएको उहाको भनाई छ । उहाले पहिचानको नारा बोक्दा बम नै हान्नुपर्ने कारण जान्न अझैपनि ईच्छुक रहेको जिकिर गर्नुभयो ।

उहाले नेपाली जनतामा सबैभन्दा ठूलो जागरण र ऐतिहासिक परिवर्तनको निम्ति सबैभन्दा ठूलो संघर्ष र बलिदानको नेतृत्व आफैंले गरेको बताउनुभयो । १७ हजारको बलिदानमा सबै भाषाभाषी जातजातिले योगदान दिएको भन्दै उहाले सबै जातजाति भाषाभाषी वर्ग समूदायको ऋण आफुमाथि रहेको बोध कायमै रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी)माओवादीका अध्यक्ष मोहन बैद्यले शासनसत्ता र राज्यसत्ता पहिचान सहितको मुद्धामा गम्भीर नदेखिएको बताउनुभयो । उहाले राणाशासन पञ्चायत शासन र अहिलेको शासनमा कुनै फरक नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जनजाती नेताहरुले पहिचानको मुद्धाका लागी निरन्तरको दवाव आवश्यक रहेको बताएका थिए ।