आर्मी शीर्ष स्थानमा, उछिन्ने दाउमा मनाङ

title
मङ्लबार, मंसिर ११, २०७५

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणका खेल जारी छन् । चौथो चराणको दोस्रो दिनको खेलमा आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सरस्वती युवा क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्नेछन् भने दोस्रो खेलमामा विभागीय टोली नेपाल एपीएफ क्लबले मनाङ मस्र्यङ्दीको सामना गर्नेछ ।

प्रतियोगिता अन्तर्गत समान ४ खेल खेलको आर्मी पहिलो स्थानमा छ भने थ्रीस्टार तेस्रो स्थानमा रहेको छ । तीन खेल खेलेको मनाङ मस्र्याङ्दी भने ९ अंकसहित दास्रो स्थानमा रहेको छ । आजको खेलमा जित हात पार्दै मनाङ शीर्ष स्थानमा उक्लिेने दाउमा रहेको छ ।

हिजो भएको खेलमा आर्मीले संकटा क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो । यस्तै, हिजै भएको अर्को खेलमा थ्रीस्टारले न्यूरोड टिमलाई पराजित गरेको थियो । त्यसैगरी अर्को खेलमा च्यासल विरुद्ध विभागीय टोली पुलिस विजय बनेको थियो ।

लिगको चौथो चरणअन्तर्गत मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई खेल हुँदैछन् । पहिलो खेलमा सरस्वती युवा क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्नेछन् भने दोस्रोमा नेपाल एपीएफ क्लबले मनाङ मर्स्याङदी क्लबको सामना गर्नेछ ।
यसअघि हिजाेकाे खेलमा आर्मीको जितमा टेकबहादुर बुढाथोकीले २ गोल गरे । संकटाले एलोन म्याक्सवेलको नवौं मिनेटको गोलमा अग्रता लिएको थियो ।

टेकबहादुरले गोलरक्षक अगाडी बढेको मौकाको फाइदा उठाउँदै १७ औं मिनेटमा बराबरी गोल गरे । त्यो जारी लिगको ५० औं गोल पनि थियो । आर्मीका लागि कप्तान भरत खवासले २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफमा आर्मीले आक्रमणलाई जोड दिँदै ३ गोल थप्यो । खेलको ६३ औं मिनेटमा सन्तोष तामाङले फ्रिकिकमा गोल गर्दै आर्मीलाई २ गोलको अग्रता दिलाए । त्यसको दुई मिनेटमै टेकबहादुरले व्यक्तिगत दोस्रो गोल गरे । ७५ औं मिनेटमा दीनेश हेन्जनले गोल गर्दै फराकिलो जित सुनिश्चित गरे । यस जितसँगै आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलमा आर्मी ३ जित र १ बराबरीसँगै १० अंक जोड्न सफल भएको छ ।

थ्रीस्टारको जित

यसैबीच, ए डिभिजन लिग अन्तर्गत सोमबारको खेलमा रुस्लान थ्री स्टार क्लबले न्यू रोड टिम (एनआरटी) लाई २–० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा थ्री स्टारले एनआरटीलाई पराजित गर्न निकै संघर्ष गर्नुप¥यो । थ्री स्टारले खेलको ७५ औं मिनेटमा रन्जित धिमालको गोलमा अग्रता लिएको थियो । आशीष बानले गोलरक्षक बिट भइसकेको अवस्थामा अजायी मार्टिन्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो ।

एनआरटीका गोलरक्षक अजित प्रजापतिले पेनाल्टी बचाएपनि रन्जितले रिबाउन्डमा सहजै गोल गरे । उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन् । रन्जितले ब्रिगेड ब्वाइज र मनाङ विरुद्ध भने पेनाल्टीमा गोल गरेका थिए । पहिलो खेलमा म्यान अफ द म्याच भएका अजित भने त्यसपछि दुई खेल बेन्चमा रहेका थिए । दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्रीस्टारको जित पक्का गरे । मिडफिल्डर सुनील बलले दिएको हेडर पासमा मार्टिन्सले हेडर मार्फत नै गोल गरेका थिए । जितसँगै थ्री स्टारले ४ खेलमा ९ अंक जोडेको छ । एनआरटी भने लगातार तेस्रो हारपछि ४ खेलमा १ अंकमै रहेको छ ।

पुलिसँग च्यासल पराजित

यसैबीच, सोमबार नै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले भ्याली च्यासल युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ । जारी लिगमा पुलिसको दोस्रो जित हो । हल्चोकस्थित एपीएफ रंगशालामा पुलिसका लागि भरत शाह र रवी पासवानले १–१ गोल गरे । पुलिसले पहिलो हाफमा रवी पासवानको गोलमा अग्रता लिएको थियो । उनले ३८ औं मिनेटमा गोल गरेका थिए । च्यासलका विश्व अधिकारीले फितलो ब्याकपास दिँदा रवीले बल चोर्दै गोलरक्षक दिनेश थापामगरलाई चिप गर्दै गोल गरेका थिए ।

खेलको निर्धारित समयमा एक मिनेट बाँकी रहँदा पुलिसले अग्रता दोब्बर पारेको थियो । पुलिसका लागि भरत शाहले गोल गरे । पुलिसले दोस्रो गोल पनि च्यासलकै गल्तीको फाइदा उठाउँदै गरेको थियो । भरत साहले च्यासलका फ्लोरेन्ट लार्बाले दिएको क्रसफिल्ड बललाई नियन्त्रणमा लिँदै सुन्दर गोल गरे । यस जितसँगै पुलिसको ४ खेलमा २ जित र १ बराबरीले ७ अंक भएको छ । च्यासल भने दोस्रो हारपछि ४ खेलमा ४ अंकमै रहेको छ ।

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब,संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । राउण्ड रोविन लिगको आधारमा भइरहेको प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख नगद राशि पाउनेछ भने उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख पाउनेछन् ।