आर्यनको यस्तो अवतार

title
बुधबार, कार्तिक २८, २०७५

काठमाडौं । एकताकाका चर्चित अभिनेता आर्यन सिग्देलको नयाँ रुप सार्वजनिक भएको छ । उनी आफ्नो नयाँ चलचित्र ‘हजार जुनी सम्म’का दाह्री सम्हालेर बसिरहेका छन् । त्यसो त बाहिरी व्यानरका चलचित्रमा अभिनय नगर्ने भन्दै आएका आर्यन अन्ततः चलचित्र विक्न छाडेपछि ‘हजार जुनी सम्म’मा आवद्ध भएका हुन् ।

चलचित्र ‘नोभेम्बर रेन’ रिलिजपछि अब बाहिरी ब्यानरको फिल्म नगर्ने र गरे पनि आफ्नो ब्यानरसँग सहकार्य गरे मात्र फिल्म गर्ने उनले घोषणा गरेका थिए । तर, करिअर ओरालो लाग्न थालेपछि उनको बोली फेरिएको हो । यस वर्ष प्रदर्शनमा आएको उचनको चलचित्र ‘कायरा’ ले लगानी सुरक्षण गर्न नसकेपछि उनलाई ठूला तनाव आइपरेको छ ।

एक समयका सर्वाधिक डिमान्डेड र महँगा अभिनेता अहिले कहिले हातमा फिल्म पर्ला र गरुला भन्ने स्थितिमा छन् । एकाएक स्टारडमले बाटो मोडेपछि चकलेटी हिरोले आफ्नो बोली विपरित बाहिरी ब्यानरको फिल्म ‘हजार जुनी सम्म’ साइन गरे । विकासराज आचार्यले निर्देशन गर्ने यो फिल्ममा उनले १३ लाख पारिश्रमिक बुझेको चर्चा छ । मंसिर दोस्रो साताबाट छायांकन शुरु हुने फिल्ममा उनी प्रमुख भूमिकामा छन् ।

उनको जोडी अभिनेत्री प्रियंका कार्कीसँग बाँधिएको छ । यसअघि यी दुईले ‘कलिउड’, ‘छक्का पञ्जा’, ‘माला’ र ‘नाईँ नभन्नू ल ३’ मा सँगै काम गरेका थिए । स्वस्तिमा खड्का पनि फिल्ममा प्रमुख भूमिकामा छिन् । अकी प्रधानसँग उनको जोडी बाँधिएको छ । अभिनेता आर्यन अहिले उक्त फिल्मका लागि दाह्रीको स्यारसुसार गर्न तल्लिन रहेको बुझिएको छ । करीब डेढ महिनादेखि उनले दाह्री काटेका छैनन् । अहिले उनलाई बाक्लो दाह्रीका कारण ठम्याउन पनि मुस्किल हुने अवस्था देखिएको छ ।