आश्मालाई हिरोइन बन्ने आकांक्षा

title
बुधबार, कार्तिक २१, २०७५

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा लागेका कलाकारका लागि अभिनय गर्नु नौलो कुरा होइन । अभिनयप्रति आकांक्षा राख्नु पनि नौलो कुरा होइन । सानो पर्दामा रमाएका जो कोहीको लक्ष्य ठूलो पर्दामा आउने हुन्छ नै । यस्तै चाहान राखेकी छिन् चर्चित डान्स ग्रुप कार्टुन क्रुजकी मुख्य सदस्य आश्मा विश्वकर्माले ।

उनी स्वयंले यो कुराको जानकारी दिइन् । धेरै फिल्मबाट अफर आएपनि स्क्रिप्ट चित्त नबुझेको उनको भनाइ छ । ‘यू एण्ड आई’ सिरिजमा आबद्ध भएकी उनी स्क्रिप्ट चित्त बुझे फिल्ममा डेब्यु गर्ने बताउँछिन् । उनलाई फरक खालको लभस्टोरी फिल्मबाट डेब्यु गर्ने इच्छा रहेछ । उनी भन्छिन्, ‘वेब सिरिजको जस्तो स्क्रिप्ट आए अवश्य गर्छु ।’ तत्काल फिल्मका लागि समय निकाल्न भने मुश्किल रहेको उनले बताइन् ।

‘अहिले डान्स ग्रुपबाट नै फुर्सद छैन । तत्काल नभएपनि राम्रो स्क्रिप्ट आए समय मिलाएर फिल्म गर्नेछु’, उनी भन्छिन् । ‘हाम्रो स्कुल’ वेब सिरिजमा काम गरेपछि अभिनय गर्ने रहर पलाएको बताउने उनले ‘यू एण्ड आई’ वेब सिरिजको स्टोरी मन परेर काम गर्न लागेको बताइन् । सो सिरिजको सोमवार एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको थियो ।

उनी आबद्ध हरेक वेब सिरिजमा कार्टुन क्रुजका मुख्य सदस्य सरोज अधिकारी प्रमुख भूमिकामा रहँदै आएका छन् । ‘यू एण्ड आई’ मा भने उनको जोडी ‘डायरी’ फेम्ड अभिनेता सन्नी सिंहसँग बाँधिएको छ । यसलाई ‘हाम्रो स्कुल’, ‘ट्वान्टी फस्ट लभ’ जस्ता वेब सिरिज निर्देशन गरिसकेका सरिन पोखरेलले निर्देशन गर्दैछन् ।

उक्त सिरिजमा तमन्ना केसी, जित तामाङ, प्रकाश बुढाथोकी, अविप्सा खनाल, श्याम राईलगायतको पनि अभिनय रहनेछ । संकल्प भुजेलले खिच्ने वेब सिरिजमा एलिस कार्की र कोविद बज्रको संगीत छ । बसन्त अधिकारी र निर्देशक पोखरेलले मिलेर स्क्रिनप्ले र डाइलग लेखेका छन् । रामप्रसाद चौधरीले सिरिजको सम्पादन गर्नेछन् ।