इजरायलमा यहुदी धर्म सापेक्ष घोषणाको विरोधमा हजारौं अल्पसंख्यकको प्रदर्शन

title
आइतवार, साउन २७, २०७५

एजेन्सी । मुलुकलाई यहुदी धर्म सापेक्ष घोषणा गरिएको विरोधमा इजरायलको तेल अभिभ शहरमा हजारौं अल्पसङ्ख्यकले प्रदर्शन गरेका छन् ।

मुलुकमा यहुदी धर्मावलम्बीलाई मात्रै आत्मनिर्णयको अधिकार दिने तथा अरबी भाषालाई सरकारी मान्यता नदिने इजरायली घोषणाको विरोधमा आयोजित प्रदर्शनमा अधिकांश इजरायलमा बसोबास गर्दै आएका अरबहरु सहभागी रहेका थिए । उनीहरुले इजरायली सरकारको विरोधमा नाराबाजी गरेको तथा प्यालेष्टाइनको झण्डासहित प्रदर्शन गरेको जनाइएको छ ।

यहुदी धर्मसापेक्ष मुलुक घोषणा गर्ने इजरायलको पछिल्लो कदमले त्यहाँ रंगभेदलाई संस्थागत गरेको भन्दै प्रदर्शन गरिएको आयोजकले जनाएका छन् । त्यसबाहेक यस घोषणाको विरोधमा ड्रुज अल्पसङ्ख्यकले पनि विरोध जनाउँदै आएका छन् ।

बहुसङ्ख्यक यहुदी जनसङ्ख्या रहेको इजरायलको २० प्रतिशत नागरिक अरब छन् ।