इटहरी उपमहानगरपालिकाका कर्मचारी काम ठप्प पार्दै आन्दोलनमा

title
बिहिबार, जेष्ठ ९, २०७६

ध्रुव ढकाल/सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका कर्मचारीले काम ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन् ।

इटहरीका मेयर द्वारिकलाल चौधरीले कर्मचारीलाई कुटपिट गरेको भन्दै कर्मचारीहरुले आजबाट काम ठप्प पार्दै आन्दोलित भएका हुन् । उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुले उपमेयर लक्ष्मी गौतम र प्रमुख प्रशासकीय अधिकृत केशव विमलीलाई ज्ञापन पत्र बुझाएका छन ।

मेयरको अपराधिक गतिविधिले काम गर्न असुरक्षित भएको भन्दै कर्मचारीहरुले सुरक्षित वातावरण बनाउन माग गरेका छन् । त्यस्तै कर्मचारीहरुले कुटपिट गर्ने मेयरलाई कानुन बमोजिम सजाय गर्न पनि माग गरेका छन् । यता, ज्ञापन पत्र बुझ्दै उपमेयर लक्ष्मी गौतमले अप्रिय घटना भएको भन्दै दुःख व्यक्त गर्नुभयो । अबका दिनमा यस्ता घटना नुहने भन्दै शान्तिपूर्ण काम गर्ने वातावरण तयार गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

बुधबार मेयर द्वारिकलाल चौधरीले पैसा लिएर काम गरेको भन्दै सब इन्जिनियर रामबहादुर खड्कालाई बर्खास्त गरेका थिए । त्यस्तै वडा नम्बर १९ का वडा सचिव मनोज दहाललाई कुटपिट गरेका थिए । घरनक्सा फाँटका कर्मचारी खड्काले सेवाग्राहीको काम गरिदिए बापत पैसा लिएको मेयर चौधरीको ठहर छ ।

त्यस्तै कर्मचारी बर्खास्त र कुटपिटको बारेमा समाचार संकलन गर्न गएका दुई पत्रकारलाई पनि मेयर चौधरीले दुव्र्यवहार गरेका थिए । पत्रकार विकल रेग्मी र कृष्ण भट्टराईलाई दुव्र्यवहार गरेपछि नेपाल पत्रकार महासंघले विज्ञप्ती निकालेर विरोध जनाएको छ ।