‘इण्डो प्यासिफिक स्ट्रयाटेजी’ मा साझेदार बन्न नेपाललाई अमेरिकी उपमन्त्रीको आह्वान

title
बुधबार, जेष्ठ १, २०७६

दक्षिण एसिया र मध्य एसिया हेर्ने अमेरिकी उपमन्त्री डेभिड जे रन्जले ‘इण्डो प्यासिफिक स्ट्रयाटेजी’ मा नेपाल सहभागी भएर महत्वपुर्ण साझेदार बन्न आह्वान गरेका छन् ।
नेपालस्थित अमेरिकी राजदुतावास समेत आयोजक रहेको वायु प्रदुषणसम्बन्धी कार्यशालामा सहभागी हुन नेपाल आएका रन्जले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी ‘इण्डो प्यासिफिक स्ट्रयाटेजी’ अन्तर्गत अर्थतन्त्र, सुरक्षा र शुशासन मुख्य एजेण्डा रहेको र नेपालले समेत सहभागी भएर त्यसबाट फाइदा लिनसक्ने बताए ।

नेपाल बसाइका क्रममा अमेरिकी उपमन्त्री रन्जले गृहमन्त्री रामबहादुर थापासँग समेत भेट्ने बताएका छन् ।
गृहमन्त्रीसँगको भेटका क्रममा उनले दुईपक्षीय हितका बारेमा कुराकानी गर्ने बताएका उपमन्त्री रन्जले उत्तर कोरियामाथि अमेरिकाले नाकाबन्दी गरेको र नेपालमा उत्तर कोरियालीहरुको गतिविधिका विषय, नेपालको सिमा सुरक्षा योजना र नेपालमा लगानीको वातावरणका विषयमा छलफल हुने जानकारी दिए ।

नेपालको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा ‘पाइसिस’ नामक अमेरिकी सफ्टवेयरको प्रयोग गर्ने विषयमा नेपाल सरकारसँग भएको सहमतिका विषयमा समेत गृहमन्त्री थापासँग कुरा हुनेछ ।

उनले अमेरिका र नेपालको लामो समयदेखि रहेको सम्बन्ध थप मजबुत बनाउने विषयमा समेत मन्त्री थापासँग कुरा गर्ने बताएका छन् । अमेरिकी उच्च अधिकारीहरुको निरन्तर भइरहेको नेपाल भ्रमण नेपाल अमेरिका सम्बन्ध थप मजबुत बनाउनु मात्रै रहेको मन्त्री रन्जको दाबी छ ।