इथियोपिया विमान दुर्घटनामा ज्यान गुमाउने नेपाली चेली को हुन् ?

title
सोमवार, फाल्गुन २७, २०७५

काठमाडौं– आइबारत इथियोपियामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका १५७ जना मध्ये एकजना नेपाली रहेको पुष्टि भएको छ ।

इथियोपियाको जहाज दुर्घटनामा परी ज्यान गुमाउने नेपाली चेली गोरखाकी एकता अधिकारी रहेको इजिप्टस्थित नेपाली दुतावासले जनाएको छ ।

उनी नैरोबीमा हुने डब्लुएफपीको एक बैठकका लागि जाँदै थिइन् । उनी सन् २०१८ को सेप्टेम्बरमा इथियोपिया गएकी हुन् । उनी नेपाल र पपुवा न्युगिनीसहित झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत थिइन् ।
उनी विश्व खाद्य कार्यक्रम अन्तर्गत इथियोपियामा कार्यरत थिइन् । इथियोपियाको राजधानी एडिस अब्बासबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ मा सवार सबै यात्रु र चालक दलका सदस्यको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा सबैभन्दा धेरै केन्याका नागरिक छन् । केन्याका ३२ जनाको ज्यान गएको छ । यस्तै क्यानडाका १८, इथियोपियाका ९ तथा अमेरिका, चीन र इटालीका ८–८ जनाको ज्यान गएको छ । यस्तै दुर्घटनामा फ्रान्स र बेलायतका सात–सात, इजिप्टका ६, जर्मनीका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जनाको ज्यान गएको छ ।

यसैगरि अस्ट्रिया, रुस र स्वीडेनका तीन–तीन तथा इजरायल, मोरक्को, पोल्याण्ड र स्पेनका दुई–दईजनाको ज्यान गएको हो ।

नेपाल, बेल्जियम, डिजिबोउटी, इन्डोनेसिया, मोजाम्बिक, नाइजेरिया, नर्वे, रुवाण्डा, साउदी अरेयिबा, सर्बिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको ज्यान गएको छ । यस्तै संयुक्त राष्ट्रसंघको पासपोर्ट लिएका एकजनाको पनि निधन भएको छ ।