इन्डोनेसियामा १८ औं एसियाली खेलकुद प्रतियोगिता सुरु हुंदै, नेपालले २९ खेलमा प्रतिश्पर्धा गर्ने

title
शनिबार, भदौ २, २०७५

‘इनर्जी अफ एसिया’ अर्थात् ‘एसियाको शक्ति’ भन्ने सन्देशका साथ आसियन राष्ट्र इन्डोनेसियाको राजधानी जकार्तामा १८ औं एसियाली खेलकुद प्रतियोगिता सुरु हुंदैछ ।
प्रतियोगीतामा नेपालसहित एसियाका ४५ देशका ११ हजार ५ सय खेलाडीले भाग लिँदै छन् । मध्ये जकार्ताको गेलोरा बुङ कार्नो रंगशालामा इन्डोनेसियाका राष्ट्रपति जोकोइ विडोडोले नेपाली समय अनुसार साँझ सवा ६ बजे प्रतियोगीता उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथी गरी ८० जना सहभागी हुनेछन् । ७६ हजार दर्शक क्षमताको रंगशालामा नेपाली टोलीको नेतृत्व गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा जकार्ता पुगेका छन् ।

एसियाडमा नेपालका सेभ दि मिसन तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलगायत पदाधिकारी छन् भने नेपाली खेलाडीको नेतृत्व भारोत्तोलनका कमलबहादुर अधिकारीले गर्नेछन् । दोस्रो पटक एसियाड गर्न लागेको इन्डोनेसियाले जकार्ता र पालेम्वाङमा खेल सञ्चालन गर्दैछ ।

प्रतियोगितामा इन्डोनेसियाका ९ सय ५१, चीनका ८ सय ७९, थाइल्यान्डका ८ सय १६, दक्षिण कोरियाका ८ सय ७, चाइनिज ताइपेइका ५ सय ५८ र भारतका ५ सय ७२ खेलाडी सहभागी हुनेछन् ।

नेपालबाट एसियाडमा विभिन्न २९ खेलका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल गरी जम्मा २ सय ८५ जना जकार्ता पुगिसकेका छन् ।