इलाम र पाँचथरको सिमावर्ती बजार राँकेमा आगलागी हुँदा करोडौंको क्षति

title
सोमवार, भदौ १८, २०७५

खविन लुइटेल/पाँचथर । मेची राजमार्ग स्थित इलाम र पाँचथरको सिमावर्ती बजार राँकेमा आइतबार बेलुका आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

इलामको देउमाई नगरपालिका–१, सडकको तल्लो भाग राँके बजारमा राती साढ ८ बजे सुरु भएको आगो पाँचथरको फिदिमबाट आएको दमकल, जिल्ला प्रहरी कार्यालय इलाम, प्रहरी चौकी चिलिङ्देन, प्रहरी चौकी रक्से, इलाका प्रहरी कार्यालय मंगलबारे, जिल्ला प्रहरी कार्यालय पाँचथर र स्थानीयको निरन्तर प्रयासमा तीन घण्टा पछि नियन्त्रणमा आएको थियो ।

विद्युत सर्ट भएका कारण आगो शुरु भएको र कुनै मानवीय क्षति नभएको बताइएको छ । प्रहरी र स्थानीयले सुरुदेखि नै नियन्त्रणको प्रयास गरेपनि फिदिमबाट दमकल आएपछि मात्रै आगलागी नियन्त्रण हुन सकेको थियो । राँकेमा कच्ची घरहरू भएकाले आगो नियन्त्रणमा समस्या भएको थियो ।

केही वर्ष अघि पनि यस बजारमा आगलागी भइ करोडौंको नोक्सानी पछि सडक माथिल्लो क्षेत्रमा नयाँ घरहरू बनिसके लगत्तै फेरि राँकेका बासिन्दाले अर्को आगलागीको चपेटा व्यहोर्नु परेको स्थानीयबासीको भनाई छ । गत महिना पहिरो खसेर बजार हिलाम्मे भएको पिडा मत्थर हुन नपाउँदै फेरि राँकेबासीले आगलागीको यो अर्को बिपत्ती ब्यहोर्नु परेको छ ।