ईपीएललाई आईसीसीको मान्यता

title
शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौं । मंसिर २२ देखी पुस ७ गते सम्म चल्ने तेस्रो संकरणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मान्यता दिएको छ ।

गत संकरणको प्रतियोगितामा २० हजार डलर तिरेर ईपीएलले आईसीसीको मान्यता पाएको थियो । आवश्यक सबै कागजातसहित रकम बुझाएर प्रक्रिया पूरा गरेपछि ईपीएलले आईसीसी मान्यता पाएको हो ।

सबै कर तिर्दा र डलरको मूल्य बढेकाले २७ लाख ५० हजार रुपैयाँ बुझाउनु परेको आयोजकले जनाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) आईसीसीको निलम्बनमा रहेको अवस्थामा सबै घरेलु प्रतियोगिता आइसीसीलेनै हेर्दै आएको छ । यो मान्यतासँगै अब सबै टीमले विदेश खेलाडी अनुबन्ध गर्ने बाटो खुलेको छ ।

ईपीएलले यसपटक लिगमा नाम चलेका अन्तर्राष्ट्रिय खेलाडी आउने जनाएको छ । आयरल्यान्डका केभीन ओ ब्राएन, हङकङका बाबर हायात, जिम्बाब्वेका सिकन्दर राजा, स्कटल्यान्डका काइल कोट्जर, यूएईका मोहमद नविद लगायतका प्रख्यात खेलाडी यसपटक ईपीएलमा खेल्ने चर्चा चलेको छ ।

आईसीसीको मान्यता पाएसँगै अब सबै खेलाडीले सम्बन्धित राष्ट्रको बोर्डको एनओसी (नो अब्जेक्सन लेटर) प्राप्त गरेमा यी खेलाडी ईपीएल खेल्नेछन् । ईपीएल मात्र होइन धनगढी प्रिमियर लिग (डीपएिल) र पोखरा प्रिमियर लिग (पीपीएल) ले सोहि रकम तिर्दै आईसीसीको मान्यता पाएका थिए ।

विदेश खेलाडी खेलाउन आईसीसीको मान्यता अनिवार्य हुनुपर्छ । एभरेस्ट प्रिमियर लिगमा कुल ६ टोलिरहेका छन् । गत बर्ष भैरहवालाई १ रनले हराउदै विराटनगरले उपाधि जितेको थियो ।