ईपीएल ट्रर्फी अनावरण, उद्घाटन खेल भोलिबाट

title
शुक्रबार, मंसिर २१, २०७५

काठमाडौं– शनिबारबाट सुरु हुने एभेरेष्ट प्रिमियर लिगको उपाधि विजेता टिमले पाउने ट्रफि सार्वजनिक भएको छ । काठमाडौंको द्वारीका होटलमा आयोजना गरिएको एक कार्यक्रममा इपिएलमा सहभागि ६ टिमका कप्तान तथा मार्की खेलाडीको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो ।

जसमा भैरहवाका कप्तान शक्ति गौचन, विराटनगरका पारस खड्का, चितवनका पृथु बास्कोटा, काठमाडौका सोमपाल कामी, ललितपुरका ज्ञानेन्द्र मल्ल र पोखराबाट स्कटल्याण्डका खेलाडी केली कोइट्जेर रहेका थिए । पोखराका मार्की खेलाडी शक्ति गौचन भएपनि कप्तान केलीलाई दिइएको छ ।

यसैबीच, इपीएलमा पोखरा राइनोजको कप्तान परिवर्तन गरिएको छ । अघिल्लो संस्करण टिमका कप्तानी गरेका शक्ति गौचनको स्थानमा स्कटल्याण्डका खेलाडी केली कोट्जेरलाई नयाँ कप्तान नियुक्त गरेको छ । इपीएलको ट्रफि सार्वजनिक कार्यक्रममा शक्तिको स्थानमा कप्तानका रुपमा केली उपस्थित भएपछि टिमले कप्तान परिवर्तन गरेको पक्का भएको हो । चितवनको मार्की खेलाडीका रुपमा रहेका शक्तिले भने यो विषयमा बोल्न चाहनेन् ।

सन् २००३ देखि राष्ट्रिय टिमबाट खेलिरहेका केली एक अनुभवी खेलाडी हुन । उनले नेपाल विरुद्ध पनि विभिन्न प्रतियोगिता खेलेका छन । करियरमा ५० ओडीआए खेलेका उनले १९६९ रन बनाएका छन भने टी–२० मा ४५ खेलमा १०३४ रन बनाएका छन । पार्टटाइम बलरको भुमिका पनि गर्ने उनले एकदिवसीयमा चार सतक बनाएका छन । इपीएललाई अझ स्तरीय र रोमान्चक बनाउन आयोजकले अन्तर्राष्ट्रिय चेयर लिडर्स समेत ल्याइसकेको छ । बुधबार भएको एक कार्यक्रममा प्रतियोगितामा सहभागी हुने ६ चियर लिडर्सलाई सार्वजनिक गरिएको थियो ।

घरेलु क्रिकेटको सर्वाधिक सफल प्रतियोगिता ईपीएलमा ६ चियर लिडर्सले खेलाडी र आम दर्शकलाई मनोरञ्जन दिनेछन् । आयोजकका अनुसार ६ जना चियर्स लिडर्सलाई दुई टिममा बाँडिने छ । प्रत्येक टिमका लागि तीन जना चियर्स लिडर्स रहनेछन् ।

मैदानमा रहने टिमले लिने रन र विकेटमा चियर्स लिडर्सले रोमाञ्चकता थप्नेछन् । क्रिकेट कप्तान पारस खड्काले पहिलो पटक नेपाली क्रिकेटमा गरिएको प्रयोगले प्रतियोगिता मात्र नभएर समग्र नेपाली क्रिकेटको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । किंगफिसरले पत्रकार सम्मेलन गर्दै दर्शकको उपस्थितीलाई विषेश ख्याल गर्दै चेयर लिडरहरु ल्याएको जानकारी दिएको हो । यसले प्रतियोगिताको स्तर उकास्न समेत उल्लेख्य योगदान पुग्ने विश्वास किंगफिसरको छ ।

इपीएलको उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रियोट्सवीच खेल हुनेछ । यसैबीच, एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किंग्सबाट खेल्ने आयरल्याण्डका केभिन ओब्राइन नेपाल आएका छन् । टेष्ट मान्यता देशका खेलाडी केभिनलाई काठमाडौं किंग्सका पदाधिकारीले उनि बसेको होटल मिराज इनमा स्वागत गरेका छन । यसपटकको इपिएलमा अघिल्लो संस्करणको भन्दा राम्रा विदेशी खेलाडी भित्र्याइएको हुँदा इपीएलको रौनक झन तातेको छ ।