ईलाममा ४० प्रतिशत रोपाई सम्पन्न

title
शनिबार, साउन १२, २०७५

ईलाम । मनसुन सक्रिय भएसंगै स्थानीय पानीका मुहानमा निर्भर इलामका किसान अहिले धान रोप्न व्यस्त छन् । मुलुकभर अत्याधीक बर्षा भइ रहेको समयमा पनि इलामका खोला र कुलोको पहुंचमा नरहेका जमिन भने अझै बांझै छन् ।

सिँचाइ पुग्ने ठाउँका किसान पनि प्रमुख खाद्य बाली धान रोप्नका लागि कुलोको पानी बांडेर पालैपालो धान रोप्न बाध्य छन् । यो, राम्रो उव्जाउ हुने जमिनमा समेत भरपर्दो सिंचाई सुविधा नहुनुको परिणाम हो ।

जिल्ला कृषि विकास कार्यलय इलामका अनुसार जिल्लाभर १५ हजार ९ सय ९५ हेक्टर जमिनमा धान खेती हुन्छ । अहिले जम्मा मुश्किलले ४० प्रतिशत जमिन मात्र रोपाइँ भएकोे छ ।

साउन महिना उसै पनि ‘मुठी रोपेर मुरी उब्जाउने’ मौषम हो । अत्याधीक बर्षा हुने यो मौषममा अधिकांश किसान खेतमा परम्परागत् शैलीले गोरु जोत्ने, बाउसे गर्ने र असारे भाकामा धान रोप्ने अर्म–पर्ममा व्यस्त हुन्छन् ।

पानी परेको मौका छोप्नु पर्ने र गोरु तथा कुलोको पालो कुर्नुपर्ने बाध्यताका बीच इलामका ग्रामिण क्षेत्रमा पनि खेती किसानीमा खटिने जनशक्तिको अभाव छ । अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले काम गर्ने श्रमिकको अभावसंगै ज्याला बढेको छ । जनशक्ति अभावका कारण रोपाई समेत ढिला ढिला हुन थालेको छ ।

तुलनात्मक रुपमा इलामका धेरै किसान चिया, अलैंची, अम्रिसो, अदुवा जस्ता नगदे बालीमा आबद्ध छन् । बांकी रहेको जमिनमा पनि परम्परागत शैलीको खेती हुने गरेकाले लगानी र मिहेनत अनुसारको उत्पादन हुंदैन ।

परिणामः किसानहरु धमाधम बैकल्पीक व्यवसायमा जोडीन थालेका छन् । यसले धानको उत्पादनमा प्रतिकुल असर परिरहेको छ ।