उच्च पदस्थ व्यक्तित्वहरुले कसरी मनाउँदैछन् दसैँ?

title
बिहिबार, कार्तिक १, २०७५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन पारिवारिक सदस्यका साथ मनाउँदै हुनुहुन्छ । उहाँले शुभसाईत ९ः५१ मा टीका ग्रहण गर्नुभएपछि राष्ट्रपति कार्यालयका कर्मचारीहरुलाई १२ बजेदेखि टीका लगाईदिने कार्यक्रम रहेको छ ।

यस्तै राष्ट्रपतिबाट टीका ग्रहण गर्न इच्छुक उच्चपदस्थ अधिकारी एवं निजामती, जंगी, प्रहरी तर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकहरुले १ बजेदेखि २ बजेसम्म टीका ग्रहण गर्न सक्नेछन् ।

अन्य सर्वसाधारणले दिउँसो २ बजेदेखि ४ बजेसम्म राष्ट्रपतिको हातबाट टीका थाप्न सक्ने राष्ट्रपति कार्यालयले जनाएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले शुभसाइतको टीका बालुवाटारमै लगाउनुहुने छ ।

आफ्नो टीकाटालो सकिएपछि प्रधानमन्त्री ओलीले नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यता नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष भने टीका लगाउनु हुने छैन । गत वर्ष छोरा प्रकाश दाहालको निधन भएको र बरखी नसकिएकाले प्रचण्डले यसवर्ष टीका नलगाउने हुनु भएको हो ।

उहाँ दसैँ अवधिभर बाहिर नजाने र घरमै कार्यकर्ता भेटघाटलगायतका काममा व्यस्त रहने उहाँको सचिवालयले जनाएको छ ।