उत्तर कोरिया फेरि नयाँ मिसाइल बनाउँदै ?

title
बुधबार, साउन १६, २०७५

बीबीसी । अमेरिकासँगको सम्बन्ध सुधारपछि उत्तर कोरिया नयाँ ब्यालेस्टिक मिसाइल निर्माणको काम गरिरहेको देखिएको छ । अमेरिकी मिडियाको रिपोर्टमा उत्तर कोरिया नयाँ ब्यालेस्टिक मिसाइल निर्माणको काम गरिरहेको देखिएको दाबी गरिएको हो ।

वाशिङटन पोस्टले अमेरिकी अधिकारिहरुलाई उद्धृत गर्दै जासूसी उपग्रहहरुले उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल निर्माण स्थलमा गतिविधिहरु देखेको समाचार प्रकाशित गरेको छ । समाचार एजेन्सी रोयटर्सले एक अधिकारीको हवाला दिँदै नयाँ मिसाइल निर्माणको काम कुन स्तरसम्म पुगेको भन्ने बारेमा स्पष्ट हुन नसकेको जनाएको छ ।

सोमवारको ‘द वाशिङटन पोस्ट’ अखबारले अधिकारीहरुलाई उद्धृत गर्दै उत्तर कोरियाको राजधानी प्योङयाङ नजिकै सानुमडोङमा एक अथवा दुई तरल ईन्धनयुक्त अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरु (आईसीबीएम) बनाइदै गरेको जनाएको छ । उक्त निर्माण स्थलमा उत्तर कोरियाले अमेरिकासम्म पहुँच बनाउन सक्ने आफ्नो पहिलो आईसीबीएम ह्वासोङ–१५ निर्माण गरेको थियो ।

एक अमेरिकी अधिकारीले रोयटर्ससँगको कुराकानीमा तरल ईन्धनयुक्त आईसीबीएमबाट ठोस ईन्धनयुक्त आईसीबीएम जति अमेरिकालाई खतरा नहुने बताएका छन् । तरल ईन्धन भर्न समय लाग्ने ती अधिकारीको भनाई छ ।

मिडिलबेरी इन्स्टिट्यूट अफ इन्टरनेशनल स्टडिज (एमआईआईएस) सँग सम्बन्धित विशेषज्ञ जेफरी लुइसले वाशिङटन पोस्टलाई भनेका छन्, “उपग्रहबाट सानुमडोङ स्थलका तस्विरहरुले त्यहाँ काम भइरहेको पुष्टि गर्दछ ।’’ यसबाट अमेरिकासँगको वार्ता पछि पनि उत्तर कोरियाले परमाणु हतियार निर्माणको कामलाई पूर्णतया बन्द नगरेको संकेत देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम–जोङ–उनबीच गत जुन महिनामा ऐतिहासिक वार्ता भएको थियो । वार्ता पछि दुबै देशका नेताहरुले उत्तर कोरियाको परमाणु कार्यक्रम समाप्त गर्ने दिशामा काम गर्ने प्रतिक्रिया दिएका थिए । त्यस्तै वार्ता पछि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरिया परमाणु खतरा नरहेको बताएका थिए ।

यद्यपि अमेरिकामा घरेलु स्तरमा ट्रम्पको आलोचना पनि भएको थियो । ट्रम्पले किम–जोङ–उनलाई परमाणु हतियार समाप्त गर्ने कुनै ठोस प्रतिवद्धता बिना नै खुकुलो अवस्था सिर्जना गरेको भन्दै आलोचकहरुको भनाई थियो ।