उपत्यकाका जल सम्पदा संकटमा

title
मङ्लबार, चैत्र १२, २०७५

शान्ता दनुवार । काठमाडौं उपत्यकामा शहरी सभ्यताको विकाससंगै निर्माण भएका थुप्रै पुरातात्विक महत्वका सम्पदा खण्डहर बनेका छन् । सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने दायीत्व भएपनि खण्डहर बनिरहेका धरोहर संरक्षणमा कसैको पनि ध्यान पुगेको छैन । त्यसमा पनि सयौं वर्ष पहिले बनेका शहर भित्रका कैयौं पोखरी तथा तलाउको त झन् नामोनिशान नै छैन । त्यसोत, काठमाडौ उपत्यका भित्रका अधिकांश पुराना सम्पदा संरक्षण अभावमा मासिदै गएका छन् ।

जसमा सबैभन्दा बढी पुराना तथा पुरातत्वीक महत्वका पोखरीहरु मासिएका छन् । शहरीकरण र अतिक्रमणका कारण थुप्रै पोखरी खण्डहर बनेका छन् । जसोतसो जोगीएका पोखरीमा पनि पानीको स्थायी श्रोतको अभाव छ । बर्षायाममा आकासे पानीले भरिने धेरै पोखरीलाई आक्कल–झुक्कल पर्व तथा उत्सवको बेला आकर्षक बनाइन्छ । तर वर्षौ लामो इतिहांसका साक्षी यी पोखरी अधिकांश समय फोहोर फाल्ने डम्पीङ साईड बन्ने गरेका छन् ।

यो काठमाडौ उपत्यकाका सबै ऐतीहांसीक तथा प्राचीन शहरमा बल्झिरहेको समस्या हो । लगनखेलस्थित् अशोक स्तूपासंगै रहेको यो सप्त–पाताल पोखरी । कुनैबेला १४ रोपनी क्षेत्रफलमा फैलिएको यो पोखरी अहिले मुस्किलले दुई रोपनीमा खुम्चेको छ । पोखरीले चर्चेको १० रोपनी भन्दा बढी जमिनमा आधुनीक भवन ठडिएका छन् । कसले कुन समयमा के आधारमा अतिक्रमण ग¥यो स्वयं ललितुपुर महानगरपालीका नै अलमलमा छ ।

जिम्मेवार निकाय गैरजिम्मेवार बन्दा ललितपुर कै कमल पोखरी, मछिन्द्रनाथको रथ यात्राको समयमा पुजा गरिने मच्छेन्द्र पोखरी तथा प्रयाग पोखरी समेत संकटमा परेका छन् । सम्पदाविद्हरुका अनुसार यी अधिकांश पोखरी काठमाडौं उपत्यकामा तत्कालीन, मल्ल राजाहरुले उपत्यकामा बेग्ला बेग्लै राज गर्दा एकले अर्कालाई देखाउनका लागि शहरलाई सुन्दर बनाउन निमार्ण गरेका हुन् ।

तत्कालीन काठमाडौ उपत्यकामा प्रकोपजन्य विपत्तिका बेला नागरिकलाई अति आवाश्यक पानी उपलव्ध गराउन तथा उपत्यकाको भु–सतहमा पानीको स्थायी श्रोत सुक्न नदिन खनिएका पोखरी पञ्चायती व्यवस्था रहंदासम्म शहरको शान र सौन्दर्य बनेका थिए । लामो समयसम्म तत्कालीन राजदरवारको प्रत्यक्ष निगरानीमा संरक्षण गरिएका धेरै ऐतीहांसीक पोखरी अहिले कि मासिएका छन् अथवा फोहोर फाल्ने खाल्डो बनेका छन् ।

२०४६ सालको राजनीतिक परिवर्तन पछि धारो, पोखरी, राजकुलो तथा मन्दिर र पाटी आसपासका जग्गामा संघ संस्थाको भवन बन्ने होड चलेपछि यस्ता सम्पदा मासिन थालेको संरक्षणविद्हरु बताउंछन् । यसबाहेक जसोतसो जोगीएका पोखरीहरु समेत सरोकारवाला निकाय जवाफदेहि र जिम्मेवार नबन्दा नियमीत सरसफाई हुन सकेका छैनन र पोखरीहरु चौर बनिरहेका छन् ।