उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

title
मङ्लबार, मंसिर ११, २०७५

प्रधानसेनापति महिला फुटबल : फाइनल खेल बुधबार

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लब प्रधानसेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलमा विभागीय टोली एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

भद्रकालीस्थित सेनाको मुख्यालयमा भएको खेलमा एपीएफका लागि सावित्रा भण्डारीले २ तथा प्लेयर अफ द म्याच अनिता बस्नेतले एक गोल गरिन् । एपीएफले पहिलो हाफको ३५ औं मिनेटमा अग्रता लिएको थियो । सावित्रा भण्डारीले अनिता बस्नेतको पासलाई सदुपयोग गर्दै गोल गरेकी थिइन् । दोस्रो हाफमा एपीएफले दुई गोल थप्यो ।

अनिता बस्नेतले ६९ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उत्कृष्ट गोल गरिन् । त्यसको एक मिनेटमै एपीएफले पेनाल्टी पायो । मोनिका पुलामी मगरले गोललाइन नजिक ह्यान्ड गरेपछि रेफ्री पदम भुजेलले सिधै रातो कार्ड देखाएका थिए । सावित्राले पेनाल्टीमा सहजै गोल गर्दै एपीएफको जित पक्का गरेकी थिइन् ।

खेलपछि एपीएफका प्रशिक्षक जनक सिंहले जित दर्ता गरेपनि सोच अनुरुप प्रदर्शन नभएको बताए । उनले भने ‘हामीले धेरै गोल गर्ने अवसर खेर फाल्यौं । अग्रपंक्तिमा अझै समस्या देखिन्छ ।

फाइनलमा त्यसलाई सुधार्दै उपाधि रक्षा गर्ने लक्ष्य राखेका छौं ।’ यस्तै सोमबार नै भएको अर्को सेमिफाइनल खेलमा विभागीय टोली आर्मीले प्रदेश २ लाई चार–शून्य गोल अन्तरले पारजित गर्दै उपाधिका लागि एपीएफसँगको भिडन्त पक्का गरेको हो । उपाधि भिडन्त बुधबार हुनेछ ।